१० वर्षपछि कांग्रेस फर्किँदै गच्छदार, पदाधिकारी बनाउने तयारी

काठमाडौं, ३० असोज – नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष विजय कुमार गच्छदार १० वर्षपछि पुनः नेपाली कांग्रेसमै फर्किने भएका छन् । उनी नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम नै कांग्रेसमा मिसिन लागेको हो ।

आइतबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रम गरी गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी गरे पनि राति अबेरसम्म वार्ता जारी रहेकाले रोकिएको स्रोतले बतायो ।

गच्छदारलाई पदाधिकारी बनाएरै पार्टीमा प्रवेश गराउने तयारी भएको छ । उपसभापति या महामन्त्रीमध्ये एक बनाउने तयारी भएको कांग्रेस स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले पनि आइतबार विशेष प्राविधिक कारणले रोकिएको बताउँदै सोमबार हुने जानकारी दिए ।

उनका अनुसार आज ११ बजे दुई पार्टीबीच एकता हुनेछ ।

२०६४ सालको संविधानसभा निर्वाचनभन्दा अघि कांग्रेस परित्याग गर्दै उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरममा प्रवेश गरेका गच्छदारले त्यसपछि पनि पार्टी फुटाएर आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गरेका थिए ।

मधेस आन्दोलनको भावनाअनुसार कांग्रेस चल्न नसकेको भन्दै उनले पार्टी परित्याग गरेका थिए । त्यसभन्दा अघि उनी ३ पटकसम्म सुनसरीबाट नेपाली कांग्रेसको उमेदवारका रुपमा निर्वाचित भैसकेका छन् ।

सुनसरीको क्षेत्र नम्बर २ बाट उनी कांग्रेसका तर्फबाट २०४८, २०५१  र २०५६ सालको निर्वाचनमा विजयी भएका थिए । २०४८ सालदेखि लगातार चुनाव जित्ने नेतामा गच्छदार पनि पर्छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी फुटाउँदा कांग्रेस प्रजातान्त्रिकमा रहेका गच्छदार पछि कांग्रेसमै फर्किएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार