काठमाडौं, ३० असोज – नेपाली काँग्रेसबाटै छुट्टिएर काँग्रेसका तत्कालिन नेता विजयकुमार गच्छेदारको नेतृत्वमा गठन भएको नेपाल लोकतान्त्रिक फोरम १० बर्षपछि पुन नेपाली काँग्रेसमै गााभिएको छ। गच्छेदारको नेतृत्वमा गठन भएको पार्टी पटकपटक फुट्दै र जुट्दै आएपनि अब भने नेपाली काँग्रेसमै विलय भएको हो।
दस वर्ष पछि पुनः काँग्रेसका फर्केका गच्छदारले आफूले रगत र पसिना बगाएको पार्टीमा फर्कन पाउँदा गौरवको अनुभूति भएको भन्दै भावुक बने । उपप्रधानमन्त्री समेत रहेका उनले लोकतन्त्रको रक्षा गर्न पनि आफू नेतृत्वको पार्टी नेपाल लोकतान्त्रिक फोरम र काँग्रेसबीच एकीकरण गर्न सम्भव भएको पनि स्पष्ट पारे ।
काँग्रेससँग पार्टी एकिकरण पछि आफ्नो मन्तव्य राख्दै गच्छेदारले पार्टी छोडेर जाँदाको दिन सम्झिए। उनले पितातुल्य नेता तत्कालिन कााग्रेस सभापति गिरिजाप्रसाद कोइराला र आमातुल्य नोना कोइरालालाई सम्झेर आँसु झारे।
छोराझै माया गरेपनि तत्कालिन राजनीतिक परिस्थितिमा आफू पार्टी छोड्नुपरेको घटना पनि उनले कार्यक्रममा सुनाए। ‘बेटा नजाउँ भन्दा भन्दै गएको स्मरण गर्दै उनी भावुक भए। उनले साथीहरु अर्जुरनरसिंह केसी र चक्र वास्तोलाले हात समाएर पार्टी नछोड भनेको पनि स्मरण गराए।
मन्तव्य राख्न लाग्दा शुरुमै वोल्न गला अवरुद्ध भएका उनले केहि छिन माइकमा वोल्न पनि सकेनन्। केहि पानी खाएर उनले आफ्नो मन्तव्यलार्इ निरन्तरता दिएका थिए।
काँग्रेससँगको एकतापछि विभिन्न हैसियतमा रहेका लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताहरुलाई हैसियत अनुसारको पद र जिम्मेवारी दिइने सहमति भएको छ।
लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छेदार, जीतेन्द्र देव सहितका केन्द्रीय उच्च नेतृत्वले काँग्रेसमा सम्मानजनक भुमिका पाउनेछन्। लोकतान्त्रिक फोरमका सबै तहलाई नेपाली काँग्रेसमा समायोजन गर्ने सहमति भएको छ। गच्छदारले उपसभापतिको जिम्मेवारी दिइने संभावना छ।
लोकतान्त्रिक फोरमका नेता योगेन चौधरी सहितका केहि भने अझै एकिकरण प्रक्रियामा असन्तुष्ट रहेको बताइए पनि उनीहरुलाई पनि गच्छेदार सहितका नेताहरु पार्टी एकिकरण प्रक्रियामा सहभागि गराउन कसरत गरिरहेका छन्।
आइतवार नै घोषणा गर्ने भनिएको पार्टी एकिकरण राती अवेरसम्म विभिन्न राजनीतिक तथा सांगठनिक विषयम सहमति जुटाउन लागेका कारण हुन सकेको थिएन। निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउन पनि दुबै पार्टीका नेताहरु गृहकार्यमा रहेका कारण पनि आइतवार नै हुने भनिएको एकता घोषणा कार्यक्रम प्रभावित भएको थियो।
पार्टी एकिकरणको दस्तावेजमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छेदारले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्। देशमा अधिनायकवादको खतरा समेत रहेका अवस्थामा वलियो लोकतान्त्रक शक्ति बनाउने उद्धेश्यका साथ पार्टी एकिकरण गरिएको दस्तावेजमा उल्लेख छ।
पार्टी एकता घोषणा कार्यक्रममा नेपाली काँग्रेसका शिर्ष नेताहरु केन्द्रिय समितिका पदाधिकारी र केन्द्रिय सदस्यहरु र विभिन्न तहका नेता कार्यकर्ताहरु उपस्थित थिए। नेपाल लोकतान्त्रिक फोरमका पनि सिंगो केन्द्रीय समिति र विभिन्न तहका नेताहरु सहभागि थिए। वालुवाटारको वैठक हलमा भएको एकता घोषणा कार्यक्रममा स्थान अभाव हुँदा वाहिर चौरमा समेत भिड व्यापक थियो।