काठमाडौं, ४ कात्तिक – प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नी बहिनी दुर्गादेवी चन्दबाट टीका लगाए। उनले भाइटीका पर्वको उपलक्ष्यमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान साइतमै बहिनी चन्दबाट टीका ग्रहण गरेको हो। टिका लगाइदिएपछि बहिनी चन्दले प्रधानमन्त्री देउवालाई कटुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन्।
सो अवसरमा प्रधानमन्त्री देउवाले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गरे। संविधान कार्यान्वयनसँगै मुलुकमा स्थायी शान्ति र आर्थिक विकासतर्फ केन्द्रित हुन समेत सबै राजनीतिक दलका नेतालाई उनले आह्वान पनि गरे।
यमपञ्चक अर्थात् तिहारको पाँचौं एवं अन्तिम दिन शनिबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई आआफ्नो परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिएर मनाइएको छ ।
सामान्य मानिसले भाइटीका लगाउँदा साइतको आवश्यक्ता नपर्ने भएपनि साइत नै खोजेर टीका लगाउन खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर ५१ मिनेटको साइत दिएको थियो । यो साइत खोज्नेका लागि निकालिएपनि आज बिहान ०८ बजेपछि दिनभर भाइटीका लगाउन शुभ रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए ।
दिदी बहिनीले धर्मराजको पूजाआजा गरी तेलको धाराले दाजुभाइलाई घेरेर ढोकामा ओखर राखी टीका लगाएर ओखर फुटाउने धार्मिक विधि पूरा गरी टीका लगाइयो । यसो गर्नाले दाजुभाइ यश र ऐश्वर्यका साथै लामो समयसम्म सुखीपूर्वक जीवन यापन गर्नसक्ने शक्ति मिल्ने धार्मिक विश्वास छ ।
दिदी बहिनीले लगाएको तेलको घेरो र मखमली माला नसुकुञ्जेल दाजुभाइलाई आजको भाइटीकाको प्रसादको कामनाले केही हुँदैन भन्ने सामाजिक विश्वास समेत छ । कात्तिक कृष्ण त्रयोदशीका दिन शुरु भएको यमपञ्चक पनि आज कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाएपछि समाप्त हुने शास्त्रीय विधान छ ।
यसैबीच दिदीबहिनी एवं दाजुभाइ नहुनेले भने शनिबार रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गई टीका लगाएर यो पर्व मनाएका छन् । यो मन्दिर प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् आजैका दिन मात्र सर्वसाधारणका लागि खुल्ने गर्दछ । यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदी बहिनीले पूजा एवम् दर्शन गरी टीका लगाएका छन् ।
यस्तै दिदीबहिनी नहुनेहरुका लागि शनिबार काठमाडौँको काष्ठमण्डप छेउ अञ्जली दिदीले सामूहिक भाइटीका लगाईन् । २०५५ सालदेखि वर्षेनी ताहाचल निवासी अञ्जली मास्केले सामूहिक भाइटीकाको आयोजना काष्ठमण्डपमा गर्दै आएकी छन् । दाजुभाईहरुको निधार खाली नहोस भनेर सामुहिक टिका लगाउने गरेको शाक्यको भनाई छ ।