काठमाडौं, ६ कात्तिक – आगामी १० मंसिरमा ३२ जिल्लामा हुने पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार ८०२ जनाले मनोनयन दर्ता गरेका छन् ।
निर्वाचन आयोगले आइतबारको उम्मेदवार मनोनयन दर्ता कार्यक्रम शान्तिपूर्ण र व्यापक जनसहभागितामा सम्पन्न भएको जनाएको छ ।
पछिल्लो विवरणअनुसार प्रतिनिधिसभातर्फ ३२० र प्रदेशसभातर्फ ४८२ गरी जम्मा ८०२ जनाको उम्मेदवारी दर्ता भएको आयोगको केन्द्रीय कार्यालयमा रहेको संयुक्त निर्वाचन संचालन केन्द्र (जेइओसी) ले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले समानुपातिक तथा प्रत्यक्षतर्फ ३२ जिल्लाका लागि मनोनयन दर्ता भएसँगै संघीय संसद् र प्रदेश सभा निर्माण प्रक्रिया सुरु भएको र संविधान कार्यान्वयनतर्फ मुलुक अघि बढेको बताए ।
मनोनयनपत्र दर्तासँगै सबै उम्मेदवारलाई निर्वाचन आचारसंहिता लागू भएको जनाउँदै आचारसंहिता पालना गरी निर्वाचन स्वच्छ, स्वतन्त्र र मर्यादित बनाउन आयोगले आग्रह गरेको छ । आयोगले आइतबार ७७ जिल्लालाई लिखित निर्देशन दिँदै निर्वाचन चिह्न अंकित टोपी, टिसर्ट, गम्छाजस्ता सांकेतिक सामग्री उत्पादन, विक्री वितरण र प्रदर्शन गर्न निषेध गरेको छ ।
पहिलो चरणको चुनावमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्ने भएका छन् भने चार हजार ४६५ मतदान स्थल र दुई हजार ९४६ मतदान केन्द्र कायम गरिएको छ ।
यी हुन पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार