मुख्यसचिवमा लोकदर्शन रेग्मी नियुक्त, सचिवहरुको हेरफेर

काठमाडौं, ६ कात्तिक – सरकारले लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको छ । मन्त्रिपरिषद्को भर्खरै सम्पन्न बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि रेग्मी २४ औं मुख्यसचिव बनेका हुन् ।

तत्कालीन मुख्यसचिव सोमलाल सुवेदी एसियाली विकास बैंकमा जागिर खान राजीनामा दिएर हिँडेपछि क्षेत्री २९ असारमा मुख्य सचिव बनेका थिए । ५८ वर्षे उमेर हदका कारण उनले कात्तिक ७ गते (भोलि) अनिवार्य अवकाश पाउँदै छन् ।

रेग्मीसँगै इन्द्रप्रसाद उपाध्याय र शंकर अधिकारी मुख्यसचिवको प्रतिष्पर्धामा थिए । तर, वरियताक्रममा तेस्रो स्थानमा रहेका रेग्मीले बाजी मारे ।

मुख्यसचिवको आकांक्षी तीनै सचिव २०७० साउन ६ गते सचिवमा बढुवा भएका थिए । वरियताक्रममा उपाध्याय पहिलो, अधिकारी दोस्रो र रेग्मी तेस्रो स्थानमा छन् ।

त्यसैगरी शंकरप्रसाद अधिकारीलाई अर्थ मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय पनि सोमबारको मन्त्रिपरिषद्ले गरेको छ।

बैठकले ङइन्द्रप्रसाद उपाध्याय लोक सेवा आयोग, मधुप्रसाद रेग्मी शिक्षा, मोहन कृष्ण सापकोटा गृह, रेश्मीराज पोण्डे सामान्य प्रशासन, युवकध्वज जिसी वन र प्रकाश माथेमालाई पशुपक्षी मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ ।

त्यसैगरी विष्णु ओम बाँडेलाई सह–सचिवबाट सचिवमा बढुवा गरिएको छ भने शिक्षा सचिव शेषनाथ अधिकारी र भूकम्प पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्द पोखरेलको राजीनामा बैठकले स्वीकृत गरिएको छ ।

बैठकले भूकम्प पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा पूर्व अर्थसचिव युवराज भुसाललाई तत्कालका लागि जिम्मेवारी दिएको छ । बैठकले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकस्थित भूकम्पपीडितका लागि ‘गिरानचौर एकीकृत नमूना’ बस्तीमा घर निर्माण गरी हस्तान्तरण गर्दा लिखित पारितमा लाग्ने रजिस्टर दस्तुर छुट दिने व्यवस्था पनि स्वीकृत गरेको छ ।

नेपाल सरकार र युरोपियन युनियनबीच निर्वाचनको परिवेक्षणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने निणयसमेत बैठकले गरेको छ । लाइभ स्टक्स सेक्टर इनोभेसन प्रोजेक्टका लागि विश्व बैंकबाट ८० मिलियन डलर ऋण सहायता लिने सम्झौतासम्बन्धी वार्ताका लागि टोली गठन गर्ने अख्तियारी दिने निर्णय बैठकले गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार