रोनाल्डोलाई लगातार दोस्रो पटक ‘फिफा उत्कृष्ट खेलाडी’ अवार्ड

काठमाडौं, ७ कात्तिक – पोर्चुगलका फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डोले लगातार दोस्रो पटक फिफा उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । गएराति एक समारोहका बीच फिफाले पोर्चुगल एवं रियाल मड्रिडका स्टार खेलाडी रोनाल्डोलाई यो अवार्डबाट सम्मानित गरेको हो ।

के हो फिफा उत्कृष्ट खेलाडी अवार्ड ?

फिफाले गत वर्षदेखि बेस्ट फुटबल अवार्ड दिन थालेको हो । यसअघि फिफाले बलुन डे ओर भनेर वर्षका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्दै आएको थियो । बलुन डे ओर फ्रेन्च फुटबल पत्रिकाले आयोजना गर्दै आएको अवार्ड कार्यक्रम हो ।

फिफाले दुई वर्ष अघि उक्त पत्रिकासँगका सहकार्य तोड्दै आफैं बेस्ट फुटबल अवार्ड दिन थालेको हो ।

महिलातर्फ नेदरल्याण्ड्सकी खेलाडी लेईके मर्टिन्स उत्कृष्ट फुटबलर बनेकी छन् ।

यसैगरी उत्कृष्ट प्रशिक्षकको अवार्ड रियाल मड्रिडका फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानले जितेका छन् । रियाल मड्रिडलाई गत सिजनको युरोपियन च्याम्पियन्स लिग जिताएबापत जिदान र रोनाल्डोले अवार्ड जितेका हुन् ।

फिफा बेस्ट फुटबल अवार्डमा आर्सनलका फ्रेन्च खेलाडी ओलिभर जिरुले पुस्कास उत्कृष्ट गोलको अवार्ड जितेका छन् । यसैगरी उत्कृष्ट फुटबल समर्थकको अवार्ड स्कटल्याण्डको सेल्टीक फुटबल क्लबका समर्थकहरुले जितेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार