वाम गठबन्धन धमिलिँदैः महरा र पोखरेलले एउटै क्षेत्र रोजेपछि….

दाङ, ९ कात्तिक – माओवादी केन्द्र र एमालेका दुई प्रभावशाली नेताले दाङको एउटै क्षेत्र दाबी गरेपछि वाम गठबन्धनलाई तालमेल मिलाउन सकस परेको छ । प्रतिनिधिसभा सदस्यमा चुनाव लड्न माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र एमाले नेता शंकर पोखरेलले दाङको २ नम्बर क्षेत्र रोजेका हुन् । जिल्ला सदरमुकामसहितको महत्त्वपूर्ण क्षेत्र भएकाले दुवै नेता छाड्न चाहँदैनन् ।

महरा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र पोखरेल एमाले अध्यक्ष केपी ओलीका विश्वासपात्र मानिन्छन् । नेतृत्वको पहुँचमा रहेका दुई प्रभावशाली नेतामध्ये कसले यो क्षेत्रमा टिकट पाउँछन् भन्नेबारे दिनहुँ बहस हुने गरेको छ । चिया गफमा समेत महरा र पोखरेल नै विषय बनिरहेका छन् ।

जिल्लामा संघ (प्रतिनिधिसभा) का लागि तीन निर्वाचन क्षेत्र भए पनि १ र ३ नम्बरमा जान दुवै जना मानिरहेका छैनन् । आफूले २ नं क्षेत्रलाई नै मुख्य प्राथमिकता दिएको महराले बताए । ‘मेरो दाबी २ नम्बरमै हो,’ उनले भने, ‘अहिलेसम्म केही टुंगिएको छैन । पार्टीले टिकट दिए त्यहींबाट लड्ने हो । बाँकी कुरा उम्मेदवार टुंगिएपछि हुन्छ ।’

पोखरेलले पनि २ नम्बरमै रुचि भए पनि निर्णय नहुँदै केही भन्न नसकिने बताए । ‘अहिले वाम गठबन्धनका सबै उम्मेदवार टुंग्याउने, चुनावी घोषणापत्र र रणनीति बनाउने काममा व्यस्त छौं,’ उनले भने, ‘रुचि २ नम्बरमै भए पनि गठबन्धनको निर्णयबमोजिम अघि बढ्नुपर्ने हुन्छ ।

पार्टीका सबै नेता–कार्यकर्ताले आफ्नै नेता उठिदिए हुन्थ्यो भन्ने चाहना देखाउनु स्वाभाविक हो । तर कुरा नटुंगिँदै बहस गर्नु अलि उचित हुँदैन होला ।’ कात्तिक १० सम्म उम्मेदवार टुंगिने र त्यसपछि सबै स्पष्ट हुने उनले बताए । जिल्लाका प्रभावशाली नेता भएका कारण महरा र पोखरेल दुवै दाङको विकासका लागि सांसद हुन आवश्यक रहेको अधिकांशको बुझाइ छ ।

वामपन्थीको चुनावी तालमेलअघि पनि दुवै जना एउटै क्षेत्रबाट लड्न नहुने सुझाव धेरैको थियो । अहिले दुवैले आफूले रोजेको क्षेत्र पार्न तीव्र लबिइङ गरिरहेका छन् । दुवै जनाले पहिलेदेखि नै यही क्षेत्रमा तयारी गरेका कारण नयाँ क्षेत्रमा जान नचाहेको निकटस्थहरू बताउँछन् ।

स्थानीय तहको निर्वाचनमा पोखरेल लामो समय यही क्षेत्रमा बसेर निर्वाचन परिचालनमा खटिएका थिए । स्थानीय तहमा जिल्लाका दुई उपमहानगरपालिका घोराही र तुलसीपुरमा एमालेले जितेका कारण पनि पोखरेल सुरुदेखि उत्साहित थिए । २ नं क्षेत्रमा घोराही उपमहानगरपालिकाका साथै तुलसीपुरको महत्त्वपूर्ण भाग पर्ने भएकाले आफूले जित्ने आकलन गरेकाले नै पोखरेल सजिलै छाड्ने मनस्थितिमा देखिँदैनन् ।

यता, गठबन्धनमा महरालाई यो क्षेत्र दिएर पोखरेललाई पार्टी महासचिव र प्रदेशको मुख्यमन्त्री या राष्ट्रिय सभाको अध्यक्ष दिने गरी मिलाउने छलफल चलिरहेको चर्चा पनि छ ।

पहिलो संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट विजयी महरा पनि आफूले टिकट पाए जित्नेमा ढुक्क छन् । महराले भविष्य हेरेर नै यो क्षेत्रको विकास निर्माणमा ध्यान दिएको, बजेट विनियोजनमा समेत प्राथमिकता दिने गरेको चर्चा पनि गरिँदै छ । रोल्पा छाडेपछि महराले दाङलाई नै मुख्य आधार क्षेत्र मान्दै आएका छन् । त्यसमा घोराही क्षेत्र बढी सहज र अनुकूल भएका कारण उनले अन्य क्षेत्रमा जान इच्छा नभएको बताएका छन् ।

पहिलो संविधानसभा निर्वाचनबाहेक सबै चुनाव महराले रोल्पाबाटै लडेका थिए । यसपालि पनि रोल्पा जान सक्ने चर्चा थियो तर वर्षमान पुनको उम्मेदवारी दर्ता भइसकेकाले त्यो विकल्प अन्त्य भएको छ ।

उनी अब दाङबाहेक अन्य क्षेत्रबाट प्रत्यक्षमा चुनाव लड्ने मनस्थितिमा देखिँदैनन् । पोखरेल पनि आफ्नो गृहक्षेत्र बिजौरी गाउँसमेत पर्ने २ नं। क्षेत्रबाटै टिकट पाउन बढी इच्छुक छन् । १ र ३ नं क्षेत्र क्रमशः कांग्रेस नेता खुमबहादुर खडका र दीपक गिरीको प्रभाव क्षेत्र रहेकाले उनीहरूको रोजाइमा नपरेका हुन् ।

२०४८ को संसदीय निर्वाचनमा रोल्पा क्षेत्र नं। २ बाट सांसद बनेका महरा ०७० को संविधानसभामा पनि रोल्पा १ बाटै निर्वाचित भए । पहिलो संविधानसभा निर्वाचनमा भने उनी दाङ क्षेत्र नं ३ बाट विजयी भएका थिए ।

त्यसयता उनी दाङमा पनि रुचाइएका नेतामा गनिन्छन् । पोखरेल त निरन्तर दाङबाटै निर्वाचन लडदै आएका छन् । ०५१ को संसदीय निर्वाचनमा उनी क्षेत्र नं। ३ बाट निर्वाचित भएका थिए ।

०५६ को संसदीय निर्वाचनमा ३ नं। मै पराजित भए । पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सभासद भएका उनी दोस्रोमा दाङ क्षेत्र नं ४ बाट पराजित भएका थिए । यसअघि निर्वाचन लडेका ३ र ४ नं क्षेत्र अहिलेको २ नं मा पर्छन् । जसका कारण उनले त्यही क्षेत्र दाबी गरिरहेका हुन् । – कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार