काठमाडौं – संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवं कपिलवस्तु निर्वाचन क्षेत्र नं–५ का सांसद अभिषेक प्रताप साह नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित एक कार्यक्रममा साहलार्इ प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका हुन् । कपिलवस्तुका लोकप्रिय युवा नेता साहको प्रवेशपछि कांग्रेस थप बलियो भएको कार्यक्रममा सहभागी नेताहरुले बताए ।
पार्टी प्रवेशका लागि आयोजना गरिएको कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शसांक कोइराला, उप्रधामन्त्रीहरु विजय कुमार गच्छदार, गोपालमान श्रेष्ठलगायतका नेताहरुको सहभागिता रहेको थियो ।
कांग्रेसमा प्रवेश गरेपछि सांसद साहले मधेसका मुद्दाहरुलाई कांग्रेसले मात्रै सम्बोधन गर्नसक्ने बताए । मधेशी दलहरुले मधेशका मुद्दा चुनावी प्रयोजनका लागि मात्र उठाउने गरेको बताउँदै साहले भने, आउने निर्वाचनमा लोकतान्त्रिक शक्तिलार्इ विजय गराउन सबै लोकतन्त्रवादीहरु एक ठाउँमा उभिनुपर्छ। कांग्रेसको जीतले मात्र लोकतन्त्र सुदृढ हुन्छ।’ उनले चुनावअघि नै धेरै मधेशी दलका नेताहरु कांग्रेसमा आउने दाबी गर्दै भने, अब कांग्रेसमा आएर संगठित रुपमा अघि बढ्नुको विकल्प छैन।
साह २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा २५ बर्षको उमेरमा सभासद विजयी भएका थिए।उनी त्यतिबेला सबैभन्दा कान्छा सभासद्को रुपमा चर्चामा आएका थिए। उनका बुबा कांग्रेसका नेता हुन् भने हजुरबुबा शिवप्रताप साह वीपी कोइरालाको मन्त्रिमण्डलमा अर्थराज्यमन्त्री रहेका थिए।