वाम गठबन्धनको डटेर सामना गर्न देउवाको कार्यकर्तालाई निर्देशन

काठमाडौं, १० कात्तिक – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन बामपन्थी गठबन्धनको डटेर सामना गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । सभापति देउवाले एकतावद्ध भएर चुनावी अभियानमा जुट्न पार्टीपंक्तिलाई आग्रह पनि गरे ।

शुक्रबार बालुवाटारमा आयोजित नेपाल तरुण दलको ६४ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले बाम गठबन्धनविरुद्ध डटेर मुकाविला गर्दै प्रजातन्त्रको रक्षाका लागि गाउँ-गाउँमा पुगेर चुनावी प्रचार अभियानलाई तीव्रता दिन निर्देशन दिए ।

प्रधानमन्त्री देउवाले बामपन्थी गठबन्धनले लोकतन्त्रलाई खतरामा पार्ने भएकाले त्यसबाट सचेत रहन पनि जोड दिए । उनले नेपालमा प्रजातन्त्र र लोकतन्त्रको पक्षमा वकालत गर्ने एउटैमात्र पार्टी रहेको भन्दै यो चुनावमा नेपाली काँग्रेसको नै विजय हुने दाबी गरे ।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका पक्षमा निर्वाचन परिणाम ल्याउनका लागि युवालाई खट्न निर्देशन दिए। कम्युनिष्ट पार्टीको गठबन्धनले लोकतन्त्रमाथि चुनौती थपिएको छ भन्दै नेता पौडेलले अधिनायकवादी शासन स्थापना गर्नेविरुद्ध सम्पूर्ण तरुण एक भएर सामना गर्नुपर्नेमा जोड दिए।

पार्टीका महामन्त्री डा शशांक कोइरालाले काँग्रेसविरुद्धको गठबन्धनबाट झस्किनुपर्ने आवश्यकता नभएको बताए । कार्यक्रममा काँग्रेस नेता एवं तरुण दलका पूर्वअध्यक्ष बालकृष्ण खाँड, तरुण दलका अध्यक्ष जीतजंग बस्नेत र कोषाध्यक्ष विद्वान् गुरुङले काँग्रेसविरुद्ध देखिएको चुनौतीलाई अवसरका रुपमा लिई निर्वाचनमा पार्टीलाई बहुमतले विजयी गराउन सबै एकजुट भएर लाग्नुपर्ने जोड दिए।

विसं २०१० कात्तिक १० गते काँग्रेसका तत्कालीन सभापति बिपी कोइरालाको समन्वय र निर्देशनमा स्थापित तरुण दलका संस्थापक अध्यक्षमा सिंहध्वज खड्का थिए । त्यसपछि २०१७ साल पुस १ गते तत्कालीन प्रधानमन्त्री बिपीले तरुण दलको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरिरहेका बेला तत्कालीन राजा महेन्द्रले सेनाको बलमा सबैलाई थुनेर ‘कु’ गरेका थिए ।

राजाले दलमाथि प्रतिबन्ध लगाएका अवस्थामा तरुण दल पनि विघटन हुन पुगेको थियो । विसं २०५४ मा नेपालगञ्जमा भएको काँग्रेसको महासमिति भेलामा काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँडको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गरेका थिए। त्यसयता तरुण दलमा महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव र उदयशम्शेर राणा अध्यक्ष भइसकेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार