प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतपत्र छाप्ने निर्णय

काठमाडौं, १२ कात्तिक –  केही समयको अन्योलतापछि निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र छाप्ने निर्णय गरेको छ । आइतबार कानुनविद्हरुसँगको छलफलपछि निर्वाचन आयोग छुट्टाछुट्टै मतपत्र छाप्ने निर्णयमा पुगेको हो ।

यसअघि सर्वोच्च अदालतले छुट्टाछुट्टै मतपत्र छाप्नेबारे के कति प्रगति भएको छ भन्नेबारे जवाफ मागे पनि निर्वाचन आयोगले एउटै मतपत्र छाप्ने बताएको थियो । तर मतपत्र छुट्टाछुट्टै मतपत्र छाप्ने विषयमा अदालतबाट आएको ध्यानाकर्षणलाई शिरोधार्य गर्दै आयोग अन्ततः छुट्टाछुट्टै मतपत्र छाप्ने निर्णयमा पुगेको हो । यसअघि आयोगले तयार पारेको नमुनामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि एउटै पानामा माथि र तल राखिएको थियो ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाले मतपत्र एउटै छाप्ने आयोगको तयारी विरुद्ध सर्वोच्चमा रिट हालेपछि आयोग दुईवटा मतपत्र बनाउन बाध्य भएको हो । यसअघि राजनीतिक दल तथा सरोकारवाला निकायकै सहमतिमा आयोगले एउटै मतपत्र बनाउने तयारी गरे पनि अदालतको ध्यानाकर्षणपछि आयोग छुट्टाछुट्टै मतपत्र छाप्ने निर्णयमा पुगेको हो ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार कात्तिक १० गतेबाट आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाई सुरू गर्नुपर्ने कार्यतालिका थियो । अव तत्कालै दुईवटा मतपत्रको नमुना तयार गरि छाप्न सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन तोकिएकै मितिमा हुनेसमेत स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार