जन्मकैदको सजाय सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ

काठमाडौं, १४ कात्तिक – ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका पूर्व सभाषद् बालकृष्ण ढुंगेल प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको संघारमा पक्राउ परेका छन् ।

सर्वोच्चको फैसलापछि पनि लामो समयसम्म खुलेआम हिँड्डुल गर्ने गरेका माओवादी नेता ढुंगेल प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखैमा पक्राउ पर्दा यसको चुनावसँग केही सम्बन्ध पो छ कि भन्ने अनुमानसमेत गरिएको छ । यद्यपि उनी यसै समयमा पक्राउ पर्नुको कारण भने अर्कै छ ।

उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा २०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उनलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । तर जिल्ला अदालतको फैसला पुनरावेदन अदालत राजविराजले उल्टाईदिएको थियो ।

त्यसपछि २०६६ सालमा फेरि सर्वोच्च अदालतले ढुंगेललाई दोषी ठहर गर्दै जिल्ला अदालतको फैसला सदर गर्यो । सर्वोच्चको फैसला आए पनि ढुंगेल राजनीतिक शक्तिको आडमा खुलेआम हिँड्डुल गरिरहेका थिए ।

त्यतिमात्रै नभएर विभिन्न कार्यक्रममा सम्मान थाप्नेदेखि प्रहरी अधिकृतसँग टाँसिएर बसेका तस्बिरसमेत सार्वजनिक भएका थिए ढुंगेलका । तै पनि उनी प्रहरीको फरार सूचीमा रहे, कहिल्यै पक्राउ परेनन् ।

अहिले कसरी पक्राउ परे ?

गत २०७३ को चैत ३० गते बुधबारका दिन अधिवक्ता दिनेश त्रिपाठीले सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका ढुंगेल पक्राउ नपरेको भन्दै ढुंगेलविरुद्ध अवहेलनाको रिट दर्ता गरेका थिए । त्यतिबेल अधिवक्ता त्रिपाठीले अभियुक्त ढुंगेलले न्यायाधीशहरुलाई नै चुनौति दिँदै हिँडेको भन्दै तत्काल पक्राउका लागि वारेन्ट जारी गरी गिरफ्तार गर्न आदेश मागेका थिए ।

त्यसको भोलिपल्ट ३१ गते बिहीबार सर्वोच्च अदालतका न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलाशले ढुंगेललाई ७ दिनभित्र पक्राउ गरी त्यसको जानकारी सर्वोच्च अदालतमा पेश गर्न प्रहरी महानिरिक्षकको नाममा वारेन्ट जारी गरेको थियो । तर प्रहरीले ढुंगेललाई ‘फेला पार्न’ सकेको थिएन ।

राजनीतिक शक्तिको आडमा सँधै खुलेआम हिड्ने गरेका ढुंगेललाई प्रहरीले जहिल्यै फरार सूचीमा मात्रै राख्ने गरेपछि यही कार्तिक ७ गते अधिवक्ता दिनेश त्रिपाठीले पुनः सर्वोच्चमा रिट हाले । उनको रिट प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध थियो ।

सर्वोच्चले पक्राउ गर्न वारेन्ट जारी गरेका अपराधीलाई पक्राउ नगरेको भन्दै प्रहरी महानिरीक्षक अर्याललाई अदालतको अवहेलनाको आरोपमा एक वर्ष कैद सजायसहित १० हजार जरिवान माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो ।

सर्वस्वसहित जन्मकैदको फैसला गरेका अभियुक्तलाई पक्राउ नगरेको आरोपमा सर्वोच्चमा रिट दायर भएपछि प्रहरी झस्किएको थियो ।
अधिवक्ता त्रिपाठीको पछिल्लो रिटपछि ढुंगेल पनि केही हच्किएका थिए । सकेसम्म सार्वजनिक कार्यक्रममा कम देखिन थालेका थिए ।

अर्कोतर्फ प्रहरी महानिरीक्षकविरुद्ध नै रिट दायर भएपछि प्रहरीले ढुंगेलको खोजी तीब्र पारेको थियो । प्रहरी महानिरीक्षकविरुद्ध रिट दायर हुनासाथ सिआईबीको टोली परिचालित भएको थियो ।

सोही मेसोमा ढुंगेल सात दोबाटोस्थित आफ्नो डेरा अगाडिबाट मंगलबार बिहान ११ बजे पक्राउ परेका हुन् । प्रहरी स्रोतका अनुसार उनी निर्वाचनको मुखमा पक्राउ पर्नु संयोग मात्रै रहेको एक प्रहरी अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार