काठमाडौं, १५ कात्तिक – काठमाडौं महानगरपालिकाले आफ्नो मुख्यालय भवन रहेको भवन ऐतिहासिक बाघदरबार नभएर हरिभवन भएको बताएको छ । महानगरपालिकाले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी ऐतिहासिक बाघदरबार १९९० सालको महाभूकम्पपछि अस्तित्वमा नरहेको तथ्य सार्वजनिक गर्दै अहिले बाघदरबार भन्ने गरिएको भवन ०९० पछि जुद्धशमशेरका छोरा हरिशमशेरले बनाएको दरबार भएको बताएको हो ।
पत्रकार सम्मेलनमा मेयर विद्यासुन्दर शाक्यले बाहिर आएजस्तो पुरातत्व विभागसँग कुनै विवाद नरहेको र पुरातत्व विभागले पनि अहिलेको भवन भत्काउने विषयमा असहमति नजनाएको दाबी गरे । अहिलको भवनमा रहेका इँटाहरुमासमेत ‘श्री ३ जुद्ध १९९१’ लेखिएको पाइएको भन्दै उनले यो भवन प्राचीन स्मारक र पुरातात्विक महत्वको वस्तुको परिभाषामा नपर्ने र रेट्रोफिटिङ पनि गर्न नमिल्ने बताए ।
काठमाडौं महानगरपालिकाले अहिलेको भवन भत्काएर नयाँ भवन बनाउने भन्दै नयाँ भवनको स्वरुपसमेत सार्वजनिक गरेको छ । १७ रोपनी ७ आना २ पैसा ३ दाम क्षेत्रफलमा लिच्छवि, मल्ल, राणाकालीन र आधुनिक शैलीका भवन निर्माण गर्ने पनि मेयर शाक्यले जानकारी दिए ।
अग्रभागको भवन पुरानो बाधदरबारकै स्वरुपको तीनतल्ले हुनेछ भने दोस्रो भवन लिच्छवि र मल्लकालीन शैलीको साढे ६ तल्ले हुनेछ ।त्यस्तै, तेस्रो भवन भने आधुनिक टावर स्वरुपमा १५ तल्लाको हुने जनाइएको छ ।
टावरबाट काठमाडौं उपत्यका, वरपरको हिमशृंखला हेर्नसकिने र अरु तल्लहरुमा आइटी पार्क, अन्तर्राष्ट्रियस्तरको कूटनीतिक बैठक सेमिनार र सभा हलहरु रहने जनाइएको छ । भवनमा म्युजियम, स्वास्थ्य सेवा–सुविधा, ढुंगेधारा र पाटीपौवासमेत रहने जनाइएको छ ।
भूमिगत तल्लासहित पार्किङको व्यवस्था रहेको भवनको लागत १ अर्ब ५० करोड रुपैयाँ रहने र ४२ महिनाभित्र निर्माण सम्पन गर्ने लक्ष्य रहेको जनाइएको छ ।