काठमाडौं, १५ कात्तिक – नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमबीच पार्टी सभापति शेरबहादुर देउवालगायत नेताले सामूहिकरुपमा घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा नेपाली कांग्रेस वाम गठबन्धनप्रति आक्रामक देखिएको छ भने राप्रपा र मधेसकेन्द्रित दलहरुप्रति नरम भाषा प्रयोग गरिएको छ । नेपाली कांग्रेसले वाम गठबन्धन संविधान संशोधनको शान्तिपूर्ण र मध्यमार्गी बाटो अवरुद्ध गर्न र कम्युनिष्ट वर्चस्वको एकदलीय निरंकुश शासनको तयारी भएको दाबी गर्दै ८४ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेको हो ।
कांग्रेसले कम्युनिष्ट गठबन्धन निर्माण गर्ने प्रयासले नयाँ संविधानका उपलब्धि, आर्थिक प्रगति, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोखिममा पर्दै गएको टिप्पणी गरेको छ । घोषणापत्रमा कांग्रेसले नेकपा एमालेलाई अतिवाद र नक्कली राष्ट्रवादको पासोमा पर्दै गएको र राष्ट्रिय एकता तथा समृद्धिको बाधककारुपमा चित्रण गरेको छ ।
यस्तै, नेकपा माओवादी केन्द्रलाई अस्थिर राजनीतिको लाभ खोज्ने अवसरवादी प्रवृत्तिकोरुपमा चित्रण गरिएको छ । वाम गठबन्धनले ‘राजनीतिक स्थिरता र आर्थिक विकासका लागि वाम एकता’ भनेपनि नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा वाम गठबन्धन सत्तास्वार्थका लागि भएको र यसले राजनीतिक स्थिरता नदिने दाबी गरेको छ ।
घोषणापत्र सार्वजनिक गर्दै सभापति शेरबहादुर देउवाले वाम गठबन्धन प्रजातन्त्र र मुलुकको समृद्धिविरोधी भएको आरोप लगाए । वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट एकता संविधान र संविधानले प्रत्याभूत गरेका मौलिक हक–अधिकार मास्न गरिएको भन्दै निर्वाचनको घोषणापत्र लोकतन्त्रविरोधीलाई जवाफ भएको बताए ।
कांग्रेसले नयाँ संविधानप्रति गम्भीर प्रतिबद्धता तथा लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यताप्रतिको विश्वास नै राप्रपा प्रजातान्त्रिक र राप्रपासँगको सहकार्यको आधार भएको जनाएको छ । यस्तै, आन्दोलन छोडेर संविधान संशोधनको माध्यमबाट समस्या समाधान गर्न अग्रसर भएको भन्दै मधेसकेन्द्रित दलको कांग्रेसले प्रशंसा गरेको छ ।
आफ्नो घोषणापत्रमा कांग्रेसले राष्ट्रवादी र लोकतान्त्रिक शक्तिहरुको साझा सहमति र सहकार्यमा जोड दिएको छ । घोषणापत्रमा कांग्रेसले राजनीतिक भागबन्डाका आधारमा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने प्रचलन रोक्ने बाचा गरेको छ । सुरुमा समसामयिक राजनीतिबारे चर्चा गरिएको कांग्रेसको घोषणापत्रमा नेपालमा राष्ट्रिय पुनःजागरणको नयाँ युग सुरु भएको घोषणा पनि गरिएको छ ।
विगत २५ वर्षमा नेपाली कांग्रेसले के–के विकास गर्यो भन्ने फेहरिस्त घोषणापत्रमा दिइएको छ । घोषणापत्रमा ‘कांग्रेसको विकास दृष्टि र लक्ष्यः अबको १० वर्षमा नेपाल’ शीर्षकमा २० ओटा बुँदा प्रस्तुत् गरिएको छ ।
मुलुकका दुई ठूला कम्युनिष्ट दल एमाले र माओवादी केन्द्रबीच एकतासम्म गर्नेगरी चुनावी गठबन्धन बनेका बेला कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेखित बाचालाई मतदाताले कसरी लिने हुन् त्यो भने आगामी परिणामले नै देखाउनेछ ।