एमालेकी नेतृ राधा ज्ञवाली ट्रान्सफर्मर खरिद काण्डमा

काठमाडौं, २० कात्तिक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा विचाराधीन ट्रान्सफर्मर खरिदसम्बन्धी मुद्दा प्रभावित पार्न खोजेको भन्दै एमाले नेतृ राधा ज्ञवालीलाई बयानका लागि बोलाउने भएको छ ।

अख्तियारले आइतबार नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका पदाधिकारी तथा पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, पूर्वसचिव विश्वप्रकाश पण्डित र बहालवाला सचिव अर्जुनकुमार कार्कीसँग बयान लिएको छ ।

क्षेत्री ऊर्जासचिव रहँदा मन्त्रीको हैसियतमा ज्ञवाली सञ्चालक समिति अध्यक्ष थिइन् । पण्डित ऊर्जासचिव हुँदा आफैँ समितिका अध्यक्ष थिए ।

पहिलो चरणमा सञ्चालक समितिका सदस्य र पदाधिकारीसँग बयान लिएपछि आयोगले अध्यक्ष तथा तत्कालीन ऊर्जामन्त्री ज्ञवालीलाई बयानका लागि बोलाउन लागेको हो ।

‘छिटै छानबिन निष्कर्षमा पुग्छ’
आयोगले छिटै ट्रान्सफर्मर खरिद प्रकरण निष्कर्षमा पुर्याउने भएको छ । ‘आयोगले अनुसन्धान प्रक्रिया बढाइसकेको छ, बोर्डका पदाधिकारी र सदस्यहरूलाई अनुसन्धानमा ल्याइसकेपछि सञ्चालक समितिका तत्कालीन अध्यक्षसँग बयान नलिई अनुसन्धान पूरा हुँदैन,’ आयोगले स्रोतले भन्यो, ‘केही दिनमै राधा ज्ञवालीसँग बयान लिन्छौँ ।’

आयोगका प्रवक्ता जीवराज कोइरालाले भने छानबिनका क्रममा रहेको विषयमा कुनै प्रतिक्रिया दिन नमिल्ने बताए । आयोग आफ्नो नियमित प्रक्रियामा प्रवेश गरेको उनको भनाइ छ ।

सोमबार पनि बयान लिइने 
आयोगले ट्रान्सफर्मर खरिद प्रकरणमा संलग्न सञ्चालक समितिका पूर्वसदस्यसँग सोमबार बयान लिँदै छ । आयोगले तत्कालीन सञ्चालक सदस्यहरू सन्तोषनारायण श्रेष्ठ, लक्ष्मण अग्रवाल, मनोजकुमार मिश्रलगायतसँग बयान लिनेछ ।

अकुत सम्पत्तिमा पूर्वआइजिपी अर्यालमाथि अनुसन्धान 
आयोगले अकुत सम्पत्ति कमाएको आशंकामा विभिन्न व्यक्तिमाथि छानबिन सुरु गरेको छ । आयोगले सोमबार बहालवाला सचिवद्वय शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सचिव गजेन्द्र ठाकुर र जलस्रोत सचिव रामानन्दप्रसाद यादव, पूवआइजिपी उपेन्द्रकान्त अर्याल, काठमाडौं महानगरपालिकाका दुई डिएसपी धनपति सापकोटा र राजुनाथ पाण्डेसँग बयान लिएको छ ।

अख्तियारले उनीहरूमाथि अकुत सम्पत्ति कमाएको आशंकामा अनुसन्धान थालेको हो । यसअघि आयोगले उनीहरूलाई सम्पत्ति विवरण खुलाउने १३ पन्ने फारम भर्न लगाइसकेको जनाएको छ । १३ पन्ने विवरण र उनीहरूको सम्पत्तिको अध्ययन गर्दा अकुत सम्पत्ति भेटिएपछि बयानमा बोलाएको अख्तियार स्रोतले जनाएको छ ।

आयोगले अकुत सम्पत्ति कमाएको आरोपमा उजुरी परेका थुपै्र व्यक्तिमाथि छानबिन तीव्र पार्न लागेको बताएको छ । ‘पहिलो चरणमा कर्मचारी र अन्य सार्वजनिक पदधारण गरेकामाथि छानबिन गर्छौँ,’ आयोग स्रोतले भन्यो, ‘राजनीतिक नेतृत्वमाथि पनि चाँडै अनुसन्धान थाल्ने तयारी हुँदै छ ।’

आयोगले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि पनि अकुत सम्पत्ति कमाएको अभियोगमा छानबिन भइरहेको बताएको छ । – नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार