अमेरिकाको टेक्सासमा चर्चभित्रै गोली चल्यो, पादरीकी छोरीसहित २६ को मृत्यु

एजेन्सी — मेरिकाको टेक्सासमा चर्चभित्रै गोली चल्दा पादरीकी छोरीसहित २६ जनाको मृत्यू भएको छ भने २० जना घाइते भएका छन्। टेक्सास राज्यस्थित सदरल्याण्ड स्पिङको एउटा चर्चमा एकजना बन्दुकधारीले आइतबार बिहान अन्धाधुन्ध गोली चलाएका हुन्।

आइतबार बिहान साढे ११ बजेतिर प्रार्थना चलिरहेको बेला २६ वर्षीय डेभिन प्याट्रिक केली नामका बन्दुकधारी कालो नकाबमा सदरल्याण्ड स्प्रिङको बापटिष्ट चर्चभित्र छिरेको र स्वचालित राइफलबाट अन्धाधुन्ध गोली चलाएको सुरक्षा अधिकारीहरुले जनाएका छन्।

गोली लागेर चर्चभित्र २३ जना, चर्चबाहिर दुई जना र अर्को एक जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ। मृत्यु हुनेमा पाँच वर्षदेखि ७२ वर्षसम्मका व्यक्तिहरु रहेको र तीमध्ये पादरीकी १४ वर्षीय छोरी पनि रहेको सुरक्षा अधिकारीहरुले जनाएका छन्।

गोली लागेर अन्य २० जना घाइते भएका छन्। चर्चमा अन्धाधुन्ध गोली प्रहार गरी मोटरमा भाग्दै गरेको बन्दुकधारी केलीको मृत्यु भएको छ।

गोली चलाएर निस्कँदै गर्दा एकजना स्थानीय बासिन्दाले बन्दुकधारीको हातमा रहेको राइफल समाएको र सुरक्षाकर्मीहरु नआइन्जेल अल्मल्याउन कोशीश गरेको तर बन्दुकधारीले राइफल छोडेर घटनास्थलबाट भागेको प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले जनाएका छन्।

भागेको बन्दुकधारीलाई एकजना स्थानीय बासिन्दाले पछ्याएको र त्यसपछि लगत्तै सुरक्षाकर्मीलेपनि पछ्याउन थालेपछि बन्दुकधारीले चलाएको मोटर दुर्घटनामा परेपछि मोटरमा बन्दुकधारी मृत अवस्थामा फेला परेको सुरक्षा अधिकारीहरुले जनाएका छन्।

बन्दुकधारीको सुरक्षा कारवाहीमा मृत्यु भएको वा बन्दुकधारीले आफैमाथी गोली चलाएको स्पष्ट भैसकेको छैन्। बन्दुकधारीको मोटरमा थप बन्दुकहरु फेला परेको सुरक्षा अधिकारीहरुले जनाएका छन्।

घटना भएको ठाउँ टेक्सास राज्यको पर्यटकीय शहर स्यान एन्टोनियोबाट करीब पचास किलोमिटर टाढाको एउटा सानो गाउँ हो। बन्दुकधारीको विस्तृत व्यक्तिगत विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार