माओवादी अध्यक्ष प्रचण्डका स्वकीय अधिकृत कांग्रेस प्रवेश

काठमाडौं, २० कात्तिक – डडेलधुराका एक दर्जन माओवादीका प्रभावशाली नेताहरु कांग्रेसमा प्रवेश गरेका छन् । सोमबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाका निर्वाचित वडा अध्यक्ष चेतराज भट्ट लगायत दर्जन माओवादी केन्द्रका विभिन्न निकायका पदाधिकारीहरुलाई कांग्रेस सदस्यता दिएर प्रवेश गराएका हुन् ।

कांग्रेसमा प्रवेश गरेका भट्ट गत स्थानीय चुनावमा माओवादी केन्द्रबाट गन्यापधुरा–४ बाट अध्यक्षमा निर्वाचित भएको थिए । उनी यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनको स्वकीय अधिकृत समेत थिए । उनी माओवादी केन्द्र डडेलधुराका जिल्ला सदस्य समेत हुन् ।

त्यस्तै डडेलधुराकै वाईसिएल नेपालका केन्द्रीय सदस्य इन्द्रबहादुर कठायत पनि कांग्रेस प्रवेश गरेका छन् । त्यस्तै गन्यापधुरा गाउँपालिका वडा नम्वर ४ का सदस्यहरु नरजित भुल र वीरबहादुर भुल पनि कांग्रेस प्रवेश गरेका छन् ।

त्यस्तै डडेलधुराका माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरु मानबहादुर धानुक, गोपाल खत्री, मिनराम साउद र धनिलाल पाल पनि कांग्रेस प्रवेश गरेका छन् । उनीहरु सबैलाई प्रधानमन्त्री देउवाले खादा लगाएर कांग्रेसमा स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार