राजतन्त्र र हिन्दूराष्ट्र फर्काउने संकल्पसहित राप्रपाको घोषणापत्र सार्वजनिक

काठमाडौं, २१ कात्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘राजसंस्थासहितको लोकतन्त्र’ का पक्षमा रहने भन्दै आसन्न प्रतिनिधि र प्रदेश सभाको घोषणापत्र सार्वजनिक गरेको छ । राप्रपाले राजतन्त्र र हिन्दूराष्ट्र फर्काउने संकल्पसहितको चुनावी घोषणापत्र ल्याएको हो ।

ललितपुरमा मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको घोषणा पत्रमा नेपालको भूराजनैतिक अवस्था एवं धार्मिक सामाजिक सांस्कृतिक परिवेशको पृष्ठभूमिमा चुनावी राजनीतिभन्दा माथि रहेको तथा सबैले सम्मान र विश्वास गर्ने एउटा साझा संस्थाको आवश्यक पर्ने जिकिर गरिएको छ ।

सार्वभौमसत्ता जनतामा निहीत रहने, देशको शासन जनताबाट निर्वाचित प्रतिनिधिले गर्ने तथा संसदको परिधि र संविधानअन्तर्गत राष्ट्रियता र सांस्कृतिक एकताको प्रतीकको रुपमा संवैधानिक राजसंस्था रहने उसको भनाइ छ ।

राष्ट्रियता, सनातन धर्म, राजसंस्थासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, असंलग्न परराष्ट्र नीति र सामाजिक न्याय तथा समावेशी सिद्धान्तलाई पार्टीको वैचारिक आधारस्तम्भका रूपमा आत्मसात गरिएको हो ।

राप्रपाले दश वर्षभित्रै मुलुकमा १० हजार मेघावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । एक घर एक रोजगारीको अवधारणा कार्यान्वयन गरिने, महिलाको सुरक्षा, स्वाभीमान, सम्मान र समानताका लागि सशक्तीकरणलाई उच्च प्राथमिकता दिनेलगायतका विषय घोषणा पत्रमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार