काठमाडौं, २१ कात्तिक – नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धन ‘सामाजिक न्यायसहितको सुसंस्कृत र समृद्ध समाजवादउन्मुख राष्ट्र निर्माणको लक्ष्य’ बोकेर निर्वाचनमा होमिएको छ ।गठबन्धनले निर्वाचनपछि पार्टी एकीकरण गर्ने प्रतिबद्धतासहितको घोषणापत्र मंगलबार (आज) सार्वजनिक गरेकाे छ ।
घोषणापत्रमा तीव्र आर्थिक विकास र सामाजिक न्यायसहितको उच्चस्तरको समृद्धि हासिल गर्ने कार्यक्रम, मूल कार्यनीति र कार्ययोजना उल्लेख छ ।
घोषणापत्रमा संविधानको कार्यान्वयन गर्दै बहुदलीय प्रतिस्पर्धासहितको लोकतान्त्रिक प्रणालीको रक्षा र सुदृढीकरणमा समेत जोड दिइएको छ । ‘नेपाली जनताको महान संघर्षद्वारा प्राप्त समाजवादउन्मुख लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशीकरण, सामाजिक न्याय र धर्मनिरपेक्षताजस्ता ऐतिहासिक उपलब्धिसहित जनताको प्रतिस्पर्धात्मक बहुदलीय शासनप्रणालीलाई संस्थागत गरिएको नेपालको संविधानको पूर्ण स्वामित्व लिँदै त्यसको प्रभावकारी कार्यान्वयन गरिनेछ,’ गठबन्धनले तयार पारेको घोषणापत्रमा भनिएको छ ।
शासकीय स्वरूपका विषयमा भने घोषणापत्र मौन छ । फरक विचार भएका कारण निर्वाचनअगावै शासकीय स्वरूपका विषयमा एकमत जुट्न नसकेपछि गठबन्धनले यो विषयलाइ निर्वाचनपछि या निर्वाचनको बीचमा समेत छलफल गरेर सहमति गर्दै छ ।
‘अहिलेको मूल एजेन्डा भनेको संविधान कार्यान्वयन हो, संविधान कार्यान्वयनका विषयमा नै घोषणापत्र केन्द्रित छ,’ एमाले उपाध्यक्ष भीम रावलले भने, ‘शासकीय स्वरूपका बारेमा घोषणापत्रमा केही उल्लेख छैन्, अहिले हामी यस विषयमा अल्झिन चाहेनौं, आवश्यकता भए आगामी दिनमा यस विषयमा निर्णय लिइनेछ ।’ संविधान कार्यान्वयनमार्फत समाजवादको स्थापनामा केन्द्रित रहेर घोषणापत्र तयार पारिएको छ ।
तालमेल र एकतालाई पुष्टि
एमाले र माओवादी केन्द्रले तयार गरेको साझा घोषणापत्रमा चुनावी तालमेलसँगै पार्टी एकताको औचित्यलाई पुष्टि गरिएको छ । निर्वाचन तालमेलसँगै पार्टी एकताको घोषणाले नेपालमा मात्रै नभएर संसारभर तरंग सिर्जना भएको भन्दै घोषणापत्रमा भनिएको छ, ‘कम्युनिस्टहरूको फुटको फाइदा उठाउँदै राष्ट्र र जनतामाथि शासन गर्न पल्केका पुँजीवादीहरू आफ्नो ऐस र आरामको स्वर्ण युग समाप्त हुने भयले विक्षिप्त भएर कम्युनिस्ट अधिनायकवादको हौवा पिटाउन थालेका छन् ।’ पुँजीवादीहरूले चलाएको भ्रमपूर्ण हल्ला भन्दै घोषणापत्रमा हल्ला गर्नेहरू हतास मनस्थितिबाट गुज्रिरहेको आरोप लगाइएको छ ।
संविधानसभाबाट जारी संविधानले नेपाललाई समाजवादउन्मुख राज्य घोषणा गरेको भन्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नेतृत्व नभएको भए यो असम्भवजस्तै रहेको घोषणापत्रमा दाबी छ ।
‘कम्युनिस्टहरूको अथक प्रयत्न र पहल नभएको भए नेपालमा आजका यी परिवर्तन सम्भव हुने थिएनन्,’ घोषणापत्रमा भनिएको छ, ‘अब यिनै दुई पार्टीको काँधमा सामाजिक न्यायमा आधारित सुसंस्कृत र समृद्ध नेपाल निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी आएको छ ।’