कांग्रेस सिद्धिने कि सुध्रिने ?

काठमाडौं, २३ कात्तिक – सधैं र सबै परिवर्तनको नेतृत्व गर्ने, हरेक परिवर्तनलाई आफ्नो दरिलो काँध, बलियो पाखुरी, बौद्धिक भर अनि जीवन बलिदान दिने नेपाली कांग्रेस यतिबेला भयानक आपद-विपदको मनस्थितिमा चुनावको सामना गर्दैछ । चुनावको भय, आतंक र त्राशको स्थितिमा यतिखेर जति कहिल्यै परेको थिएन कांग्रेस । देशमा बामपन्थी जनमतको बाहुल्यता प्रायः सधैं छ रहेको देखिन्छ । वि.स. २०१५ को चुनाव पछि कांग्रेसको जनमत क्रमशः खस्केको छ । बामपन्थीहरुको जनमत बलियो तर शासन सत्तामा पकड़ फितलो छ । नेपाली भुमीमा बामपन्थी आकर्षण खुवै मौलाएको छ ।

बामपन्थीहरुको नारा र शब्दजालको बजार अपार छ । चर्को छ । भाउ चुलिएको छ । राजनीतिको खेतीपाती बालीनाली फस्टाएको छ । मौलाएको छ । यहीबेला कांग्रेस रनाहामा छ र भन्छ बामपन्थीहरुले अधिनायकवादी व्यवस्था ल्याउन लागे । बामपन्थीहरुको अभिष्ट र अन्तिम लक्ष्य नै साम्यवादी व्यस्था हो भने उनीहरुको गठजोडले त्यो प्रयत्न गर्नु अस्वाभाविक होइन र मान्नु पर्दैन । बरु आजको सन्दर्भ र विश्व परिस्थिति , विश्व भू-राजनीतिक परिवेश र पूंजीवादी उत्पादन प्रणालीमा अभ्यस्त नेता कार्यकर्ताले यसलाई या बामपन्थीहरुको अन्तिम गन्तब्य बिन्दुलाई कति सहज र सरल अनि व्यवहारिक मान्लान ?

अधिनायकवादी व्यवस्थाको लागि नेपाली जनमत तयार छ । जनताको चाह के हो भने सधै अस्थिर सरकार र आलोपालोको सरकार भन्दा जोसुकैले जिते पनि कम्तिमा स्थिर सरकार हुनुपर्यो र पाँच वर्ष एउटामात्र सरकारले काम गर्न पाउनु पर्यो भन्ने हो । यसमा विश्लेषण खै ? के यति सजिलै साम्यबाद आउछ ? जनअनुमोदन द्वारा कम्युनिस्ट शासन सत्तामा आउँछन चुनावलाई उपयोग गर्छन आवधिक निर्वाचन प्रणाली बाट छनोटमा रहेर जुनसुकै बाद आए पनि ग्राह्य र स्वीकार्य हुन्छ मान्नु पर्छ ।

प्रजातन्त्रमा जनताको मत लिएर जो सुकै जितेर आउन सक्छन र आउन दिनु पनि पर्छ । जनमतको कदर भन्ने तर जनताले चाहेको विषयमा भोटिङ गर्न नमान्ने पनि प्रजातन्त्र हुन्छ ? अहिले पनि दलीय सिण्डिकेट र तानाशाही ब्यबस्था विद्यमान छ यदि होइन भने राजसंस्था, हिन्दु धर्म र संघीयताको बारेमा जनमत बुझ्न किन कांग्रेस पार्टीको खुट्टा काम्छ ? अत्याधिक जनमत भएको कम्युनिस्ट पार्टीलाई किन गलाको पासो बन्छ यो मुद्दा र विषय ।

तसर्थ अहिले पनि पार्टीगत निरंकुश ब्यबस्था छ । अनुशासनहिन लोकतन्त्र छ । गणतन्त्र छ । जहिलेसम्म नेपालमा यी तीन विषयमा जनताको प्रत्यक्ष सहभागीता मा यो । या त्यो । भनेर जनमत लिई जनमतको फैसला ग्रहण गरिन्न तवसम्म यो कसैले बोकाई दिएको गणतन्त्र मात्र हुनेछ । जनताको चाहना र मंजुरीको ब्यबस्था मान्न सकिन्न र हुँदैन पनि । आफ्नो स्वार्थको लागि मात्र लोकतन्त्र भन्नेहरु आफ्नो स्वार्थमा ठेस लाग्ने, दख्खल दिने परिणाम आउने कुरामा लोकतन्त्रलाई बन्धक बनाएर राख्ने गर्छन । आफ्नो अकर्मण्यता लाचारी र अक्षमता ढाक्न ज्ञानेन्द्र शाहले देश बिग्रियो भन्दा पनि थरथरी काम्ने गर्छन् । आखिर प्रजातन्त्र कहाँ छ ? कसको लागि मात्र हो यो प्रजातन्त्र ? कांग्रेस, कम्युनिस्ट अधिनायकबाद आउछ भनेर तर्सन्छ तर आफैं कम्युनिस्टसंग मिलेर अधिनायकबादको अभ्यास गर्छ ।

त्यसैले कांग्रेसलाई आफ्नै कमजोरीको मनोबैज्ञानिक भूतले तर्साएको छ । सधैं र जसरी पनि बामपन्थीहरु आपसमा लडेको फाइदा लिएर सत्ता चास्नीमा फसेको कांग्रेसले अब डराउने हैन गहिरो आत्मसमीक्षा गरी आफूलाई सुधारेर लानु उपयुक्त र बुद्दिमानी हुन्छ । अरुको कमजोरीमा खेलेर हैन आफ्नो कामको श्रेष्ठताको आधारमा साशन सत्तामा आफुलाई पुर्याउनु पर्छ । वि.स २०१५ र २०४८ मा कांग्रेस आफ्नो सुकर्म इतिहासको ब्याज खाएर ठुलो र पहिलो दल भएको हो । गरिमामय इतिहास, कठोर त्याग-तपस्या र बलिदानी प्रजातन्त्रप्रतिको निष्ठा र लगाव निरन्तरता अनि वजनदार नेताहरुको नेतृत्व नै कांग्रेसको सबल पक्ष र आकर्षण थियो । त्यसपछी कांग्रेस आफ्नो निष्ठा सैद्दान्तिक अडान र ब्यबस्थापन कुशलता देखाउन नसक्दा लगभग ओरालो लागेको स्थितिमा छ । भलै सत्ता र शक्तिमा रहेको होस् ।

वि.स २०५६ को बहुमत पनि एमालेको पाखण्ड र निष्ठाहिनता सैद्दान्तिक विचलन र पार्टी फुटको कारण सम्भव भएको हो । तर जनमत कांग्रेसलाई सत्ता सयर गर्ने खालको होइन, कांग्रेसको जनमतको ग्राफ सधै तलतल छ । २०६४ र २०७० अनि हालै सम्पन्न स्थानीय निकायको निर्वाचनमा पनि मधेसमा भन्दा कांग्रेसले आफ्नो साख जोगाउन सकेन । सधैं अरुको दुर्वलता र कमजोरी नै कांग्रेसलाई सत्ता प्राप्तिको ढोका सम्म पुर्याउने बाटो बन्यो । जसलाई कांग्रेसले बरदान नै सम्झियो । तर आफू सुध्रने र सपार्ने तिर लागेन । अचानक मिल्ने, अचानक फुट्ने रातारात महान र असल हुने अनि रातारात गद्दार र निक्रिस्ट बन्ने कम्युनिस्ट चरित्रलाई बुझ्न नसक्नु कांग्रेसको अहिलेसम्मको ठुलो र गम्भीर भुल हो ।

प्रचण्डको आलो बिगत र वर्तमान अनि जतिबेला जे पनि गर्ने स्वभावलाई कांग्रेसले चिन्न नसक्नु अर्को भूलको शृंखला हो । इमान्दार भएर बीपीको सैद्दान्तिक धरातल नछोड्ने, जनताको मर्मलाई बुझ्ने र जनअपेक्षा अनुरूप काम गरेको हुन्थ्यो भने कम्युनिस्टको यो अचानक र रहस्यमय गोत्र मिलनबाट कांग्रेस झस्कनु डराउनु र आतिनु पर्ने थिएन । आफ्नो बुतामा उभिन नसकेकोले नै कांग्रेस यो पटक यति हतास र किंकर्तब्यबिमुढ़ भएको हो । चुनावमा सधैं जितिदैन र जित्नुपर्छ भन्ने पनि केहि छैन । तर एक पटकको चुनाव नजित्दैमा सर्वस्व केही गुम्ने होइन । तर कांग्रेस सर्वस्व गुम्ने खतराबोध गर्दैछ । जुन नितान्त नाजायज र आफ्नो कमजोरीको पराकास्ठा हो ।

चुनाव हार्न सकिन्छ तर चुनाव हारेर भाग्नु चैं हुँदैन । चुनाब हार्नु भनेको आफ्नो कमजोरी सच्याउने, अरुलाई सच्चिन मौका दिने र जनतासँगको दुरी नजिक बनाउने माध्यम पनि हो । इमान, नैतिकता, निष्ठा समर्पण र आदर्श मुल्य र मान्यता अनि दृष्टिकोण हार्नु हुँदैन । जनमत तलमाथि हुँदा कहिलेकाहीँ सहने धैर्यता राख्नु पर्छ । तर कांग्रेसको त्राश र मनोवैज्ञानिक पक्ष नियाल्दा लाग्छ कांग्रेस यो चुनावमा कहिल्यै कसैगरी नउठ्ने गरी लड्दैछ ।

परिवर्तनको अपरीहार्य नेतृत्व र सबैको अबिभाकीय र स्वीकार्य भूमिका २००७ देखि आजसम्म करिबन ७० बर्ष अविछिन्न बोकेको कांग्रेस किन चुक्दै छ ? इतिहासको त्यो गौरबशाली बिरासत किन आज धरमर भयो ? कहिल्यै र कुनै दिन गम्भीर भएर समिक्षा गर्यौ कांग्रेसजन ? दिन प्रतिदिन बढ्दै गरेको बामपन्थीहरुको क्रेजलाई कुनै नौलो आकर्षण र कार्यक्रमले प्रतिकार गर्यौ ? कुनै रचनात्मक र दीर्घकालीन महत्वको बिषय वस्तुलाई उठान गरेर अरु भन्दा पृथक आफ्नो पहिचान देखाउन सक्यौ कांग्रेसजन ?

तपाईहरुले आफ्नो कार्यकालमा यो आफ्नो यो अर्काको नभनी गल्तीलाई निरुत्साहित गर्न दण्ड र सहि र राम्रो कामलाई प्रोत्साहन गर्न निष्पक्षताको नीति र गति अवलम्बन गर्नुभयो ? समाजमा सत्ता संचालनको कुनै मानक संस्कृति स्थापित गर्ने पहल गर्नुभयो ? यत्रो वर्ष सत्ताको नेतृत्व गर्दा कहिं न कहिं कतै न कतै राम्रो काम पनि गरेका थियौ होला त्यो कामको प्रचार गर्न के ले बाधा गर्‍यो ? किन आफूले गरेका आफ्नो पालामा भएका राम्रा कामको फेहरिस्त पस्कन सक्दैनौ ?

यतिका वर्षमा यो झ्याल्टुंग संबिधान मात्र हाम्रो कार्यकालको उपलब्धि भन्दा झन्डै शरम मान्नुपर्ने हो ? वर्षौं सत्ता आरोहणको लागि मर्न तयार हुने कार्यकर्ताको रेखदेख तपार्इको सत्ताले कति गर्‍यो ? जनतामा धन्यवाद दिन कुनै अतिआवश्यक अवसर कहिल्यै समानुपातिक वितरणबाट जनताको घर–दैलो सम्म पुर्‍याउनु भयो ? मान्नुस कांग्रेसजन धन्न जनता तपाईहरुलाई आज सम्म भोट हाल्दैछन् ।

लोकतन्त्रको लागि निष्ठावान लडार्इमा सँधै अग्रणी र अगुवाई गरेको कांग्रेसले आफ्नो सत्ता व्यवस्थापन क्षमताको कहिल्यै मुल्यांकन पुनरावलोकन गरेन शायद । सधैं अरू लडेको फाइदा उठाएर जितिन्छ भन्ने भ्रम कांग्रेसको अर्बुध रोग बनेर बसेको हेक्का अब त् भयो कि ? सधै र उही अनुहार अनि उनैको मात्र सत्ता बपौती ठान्दा सम्भावना भएका र उम्दा कार्यकर्ताको उर्जा सेलायो सकियो भन्ने सोचाई कांग्रेसको जीवनमा आएको भए आज नयाँ पुस्ताले कांग्रेस हाकेको हुन्थ्यो र यो हविगतमा आइपुग्नु पर्दैनथ्यो कि ? सँधै अवसर आफ्ना ‘स्वास्नी’, छोराछोरी नातागोता र इस्टमित्रलाई मात्र हो ? के सत्ता अवसरको समानुपातिक र समुचित वितरणमा कहिल्यै ध्यान गयो तपाईहरुको ? पार्टी कार्यकर्ता सँधै दास, नोकर र भोटर मात्रै हुन् ?

धैर्य ,धीरता र धर्म गुमाएर होला कांग्रेस गठबन्धनको नाममा जो सुकै र जतासुकै लतारिन र घस्रिन पुग्नु देशको सबभन्दा पुरानो र लोकतान्त्रिक पार्टीको दूरदर्शी र नीति र कार्यक्रम भएन । सत्ताबिना ‘पानी बिनाको माछो जस्तै हुनु’ सकिन आट्नुको संकेत हो । नेतृत्वमा विषम परिस्थितिलाई कुशल ढंगले सामना गर्ने सामर्थ्य हुनुपर्छ खै त्यस्तो ल्याकत ? बाम गठबन्धन र उसले पाएको स्थानीय निकायको मतलाई मात्र आधार मान्ने हो भने बामहरू झन्डै दुई तिहाइको नजिक छन् ।

यहि आकडा र तथ्य हेरेर मात्र आतिनु राजनेताको लक्षण होइन र हुन् सक्तैन । कांग्रेसमा राजनेताको खडेरी पर्न अब शुरु भयो या अरु कांग्रेसको बुढो गलेको पुस्ताको काध फेर्ने युवा छन् । तर अवसरको अभावमा या उचित समायोचित मौकाको खोजीमा अब देखिन्छ पक्कै पनि । अब कांग्रेस सुध्रेन भने सकिनु , नासिनु र मासिनुको विकल्प छैन। त्यसैले कांग्रेस सुध्रिनु पर्छ । कांग्रेस सुध्रियो भने अरु सुध्रिन सक्छन । अरु सुध्रिए भने कांग्रेसलाई नसुध्रि धरै छैन या सुध्रीएन् भने भविष्य छैन । सिद्धिनु र सकिनु भन्दा उत्तम विकल्प सुध्रिनु र भुल सच्याउनु हो । त्रुटीलाई कम गर्नु हो । गलत बाटो हिडेको छ गलत नीति बोकेको छ भने त्यसलाई ठिक बाटोमा र समयानुकुल बनाउनु कांग्रेसको बृहत हित र देश हितको मार्ग हो ।

समयको आवाज र पदचापलाई कांग्रेसले बेवास्ता गर्न मिल्दैन र सुहाउदैन । अब बृहत देश र पार्टी हितको लागि नविन पुस्ता नविन सोच शैलीलाई कांग्रेसले आत्मसाथ गरेर अघि जानुपर्छ । थाकेका र भिजनहिनहरुबाट पार्टीको बागडोर नयाँ र आशालाग्दो पुस्ताको काधमा राखिदिनु पर्छ । कांग्रेस परम्परागत पुस्ता वंशकुल भन्दा बाहिर पनि २१ औं शताब्दीको पुस्ताले पनि मेरो र हाम्रो पार्टी भन्ने अनि त्यहाँ भित्र आफ्नो र देशको भविष्य सुनौलो देख्ने अवधारणा र कार्यक्रर्मको विकास गर्नुपर्छ ।

कांग्रेसले हिजोदेखि पालेको यो भ्रम र सपना भुल्नु पर्छ कि’ हामी नभए देश हुँदैन लोकतन्त्र रहँदैन ‘ । हो कांग्रेस बिग्रेको कारण देशलाई समस्या भएको छ देशलाई हानी नोक्सानी भएको छ कांग्रेसको असफलता सँगै देशलाई संकट परेको छ तर त्यो दिन र अवस्था अब छैन र रहन्न पनि ।

देशभर यत्रो ठुलो जनाधार र संगठनको जालो भएको मान्छेको मन मनमा हिजो देखि बसेको पार्टी आज किन आफुलाई कमजोर साबित गर्ने प्रयत्न गर्दैछ ? निरन्तरको गर्विलो र ओजमय इतिहास जनसमर्थन र शक्ति भएको पार्टीले अझै हतास हुनु पर्दैन । यसलाई हाँक्न यसको गरिमालाई उचो राख्न थुप्रै थुप्रै युवा युवतीहरु लालायित छन् बरु नेतृत्वले उदार छाती गरेर स्पेस बनाई दिने त्यागको उदाहरण दिनु आवश्यक छ । जुन समयको माग र चुनौती पनि हो । जनताद्वारा नेता छान्ने परिपाटी अवलम्बन गरी जनतालाई नेता चुन्ने अवसर उपलब्ध गराउनुस त तपार्इको पार्टीमा देशको मुहार बदल्ने वौद्धिक उर्जा जोश, जाँगर भएका सयौं युवा छन् ।

छोडदिनुस स्वार्थको मोह तपाँईहरुको पार्टी सम्हाल्न गगन थापा, धनराज गुरुङ ,विश्वप्रकाश शर्मा, बद्री पाण्डे, केशव सिंह, प्रदिप पौडेलहरु आउँछन । पार्टीलाई नयाँ ढंगले चलाउँछन देश बनाउछन् । आफ्नो सैदान्तिक धरातल गुम्न नदिनोस । इमान निष्ठा र वचनको पक्का बन्नोस । गलतलाई दण्ड र सच्याईलाई साथ् दिनुहोस । बिगतको त्रुटी र कमजोरी मनबाटै आत्मसाथ गरेर प्रायस्चित गरि सँधै जनताको घर दैलोमा रहनुहोस दिन बदलिन समय धेरै कुर्नु पर्दैन ।

बलियो आत्मविश्वास र गहिरो समीक्षाका साथ् कांग्रेस चुनावमा गए अझै शर्मानक हार खप्नु पर्दैन । भ्रष्टाचार निवारणको लागि आफू र आफ्नो वरीपरीबाट सफाई अभियान शुरु गर्नुस । नाताबाद, कृपावाद, चाप्लुसी र चाकरीलाई अहिल्यै देखि ठाउँ नदिनुस् । सक्षम, इमान, निष्ठा र विवेकलाई खोजीखोजी पुरस्कृत गर्नुस । पार्टीले नयाँ जीवन पाउनेछ ।

पारदर्शिता, इमान्दारिता र नैतिकतालाई नृत्यकर्म र सुत्र बनाउने पहल गर्नुस । इतिहासको ब्याज होइन बर्तमानको चुनौती सामना गर्ने क्षमतावानहरुको साथ् लिनोस कांग्रेस डायनोसर हुन्बाट बच्ने छ । कांग्रेस सुध्रिने या सिद्धिने आगामी कांग्रेसको कार्यब्यापारले निर्धारण गर्नेछ । कांग्रेस आफ्नै अनैतिकता, अक्षमता, अहम, अल्छेपन, अपारदर्शिता र अकर्मण्यताले सकिन्छ अरु जुनसुकै अधिनायकवादी चुच्चे रेलमा चढेर आए पनि अहिले सकिदैन । आफ्नो अवमूल्यन नगर कांग्रेसजन ।

 

 

-संजिव कार्की imageonline

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार