काठमाडौं, २५ कात्तिक – पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन भएको छ । ९० वर्षका विष्टको शनिबार बिहान काठमाडौंको ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो । क्यान्सरबाट पीडित विष्टको विहान करिब साढे १० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । अस्वस्थ रहेका पूर्व प्रधानमन्त्री बिष्ट करिब एक वर्षदेखि आराम गरिरहेका थिए ।
बिष्ट तीनपटक प्रधानमन्त्री र एकपटक मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए । बिं. सं. १९८३ माघ २ गते काठमाडौंको ठमेलमा जन्मिएका विष्ट २५ चैत ०२५ देखि ३१ चैत ०२६ सम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए । १ वैशाख ०२८ देखि १ साउन ०३० सम्म दोस्रोपटक र ३० वैशाख ०३४ देखि १६ जेठ ०३६ सम्म तेस्रोपटक प्रधानमन्त्री बनेका थिए ।
दोस्रोपटक प्रधानमन्त्री रहेको समयमा २५ असार ०३० सालमा सिंहदरबार आगलागी भएपछि नैतिकताका आधारमा राजीनामा दिएका उनलाई सोही कारण नैतिकवान नेताका रुपमा चिनिने गरेको छ । १९ माघ ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि उनी मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए ।
उनको शनिबार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ । आफूलाई राजकीय सम्मान नदिनु भन्ने उनको इच्छाअनुसार नै सामान्य ढंगबाटै अन्त्येष्टी गर्न लागिएको परिवारस्रोतले जानकारी दिएको छ । उनका दुई छोरा र तीन छोरी छन् ।