कांग्रेस सधैं शेर्पा समुदायको साथमा छ: प्रधानमन्त्री देउवा

सोलुखुम्बु,२६ कात्तिक  – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पासाङल्हामु शेर्पालाई आफू सरकार प्रमुख हुँदा राष्ट्रिय विभूति घोषणा गरी शेर्पा समुदायको सम्मान गरेको बताएका छन् ।

आज बिहान सोलुखुम्बुको लुक्लामा आयोजित काँग्रेस कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पासाङल्हामु शेर्पालाई राष्ट्रिय विभूति बनाएर शेर्पा समुदायको कदर गरेको प्रशंग उल्लेख गर्दै काँग्रेस संधै शेर्पा समुदायको साथमा छ भने ।

उनले योपटकको चुनावमा पनि अन्य कुनै पार्टीले प्रत्यक्षतर्फ शेर्पालाई चुनावमा नउठाएको दाबी गर्दै काँग्रेसले नै प्रदेशसभाको प्रत्यक्षतर्फ आङ्गेलु शेर्पालाई उम्मेदवार बनाएको बताए ।

सो अवसरमा काँग्रेस सभापति देउवाले मुलुकको अस्तित्व जोगाउन लोकतन्त्रवादीको जित आवश्यक रहेको बताए । कार्यक्रममा प्रदेशसभा क्षेत्र नं ‘ख’ का उम्मेदवार आङ्गेलु शेर्पाले लुक्लाको सुर्केसम्म कालोपत्र सडक पुर्‍याउन माग गरे ।

उम्मेदवार शेर्पा र स्थानीयवासीको माग सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले दुई वर्षभित्र सुर्केसम्म कालोपत्र गर्ने र सोलुदूधकुण्ड नगरपालिकमा एउटा राष्ट्रियसभा गृह बनाउने प्रतिबद्धता व्यक्त गरे ।

चुनावी कार्यक्रममा प्रदेशसभाका उम्मेदवार शेर्पाले आफूलाई यहाँका जनताले निर्वाचित गर्ने विश्वास व्यक्त गर्दै चुनाव जितेपछि १ नं प्रदेशकै नमूना क्षेत्र बनाउने बताए ।कार्यक्रममा खुम्बु क्षेत्रका अगुवाले त्यहाँको विकास निर्माणमा ध्यान दिन माग गरेका थिए । लुक्लाको चुनावी कार्यक्रम सकेर प्रधानमन्त्री देउवा आजै काठमाडौँ फर्किए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार