काठमाडौं, २६ कात्तिक – मानव बेचबिखनविरुद्ध साहसिक अभियान चलाएर थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित समाजसेवी अनुराधा कोइराला कांग्रेसमा प्रवेश गरेकी छिन्। समाजसेवामा तीन दसकदेखि निरन्तर सक्रिय अनुराधालाई आइतबार बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वागत गरेका हुन्।
देउवा तथा पौडेलले अनुराधाको प्रवेशले सामाजिक सामाजिक मुद्दामा लड्नका लागि कांग्रेसलाई थप उर्जा हासिल भएको बताए । आफू पहिलेदेखि नै कांग्रेसको शुभचिन्तक रहेको बताउँदै अनुराधाले नेपाल तारासँग भनिन्, ‘म कसैको कार्यकर्ता वा नेता बन्नका लागि होइन। लोकतन्त्रलाई बलियो बनाउनका लागि कांग्रेसमा आएकी हुँ ।’
अनुराधाले अब राजनीतिमार्फत सामाजिक मुद्दामा अभियान अघि बढाउने अठोट गरेकी छिन्। उनले भनिन्,’ झन्डै तीन दसक म सामाजिक कार्यकर्ता बनेर मानवबेचविखनविरुद्ध लडेँ। अब राजनीतिमार्फत त्यही मुद्दामा लड्छु । लडाइ जारी छ।’
मुलुकमा परिवर्तनका लागि सात दसकदेखि निरन्तर लडेको जेठो राजनीतिक शक्ति कांग्रेसमाथि सबैतिरबाट प्रहार भएको उल्लेख गर्दै अनुराधाले भनिन्, ‘ लोकतन्त्रलाई बचाउने र बलियो बनाउने शक्ति कांग्रेस हो, कांग्रेस कमजोर हुँदा लोकतन्त्र धरापमा पर्छ। त्यसैलै हामी सबैले कांग्रेसलाई बचाउनुपर्छ र बलियो बनाउनुपर्छ। म त्यही अठोट बोकेर कांग्रेसमा आएकी हुँ ।’
कांग्रेसकै नेतृत्वमा आर्थिक समृद्धि र सामाजिक रुपान्तरण संभव हुने अनुराधाको विश्वास छ। उनी भन्छिन्, ‘कांग्रेस एउटा संस्था र विचार हो। सबै अटाउन र रमाउन सक्छन्।’कांग्रेस राजनीतिमा सक्रिय नभए पनि पहिलेदेखि अनुराधा कांग्रेस वृत्तसँग निकट छन् । पारिवारिक पृष्ठभूमि हेर्ने हो उनको पनि कांग्रेससँग नजिकको साइनो छ। नातामा पूर्वप्रधानमन्त्री तथा कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको बुहारी पर्ने अनुराधाको सबै दलका नेताहरुसँग राम्रो सम्बन्ध छ।
२५ वर्षअघि अनुराधाले गौशालाको साँघुरो डेरामा जन्माएको माइती नेपाल अहिले सामाजिक क्षेत्रमा उदाहरणीय संस्थाको रुपमा स्थापित भएको छ। जोखिममा रहेका हजारौं महिला तथा बालबालिकाका लागि आश्रय तथा आसाको केन्द्र बनेको छ ।मानव बेचबिखनविरुद्ध अनुराधाले प्रदर्शन गरेको अदम्य साहस र उनको अनवरत संघर्षलाई कदर गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा थुप्रै सम्मान प्रदान गरिएको छ। नेपालबाट सिएनन हिरोको अवार्ड पहिलोपटक अनुराधाले नै प्राप्त गरेकी थिइन्। भारतको निकै प्रतिष्ठित सम्मान पद्माश्री पुरस्कार पाउने अनुराधा नै पहिलो नेपाली हुन् । उनले अरु थुप्रै अन्तराष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेकी छिन् ।