बुटबल(रुपन्देही), २८ कार्तिक – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले राजनीतिमा द्धन्द भन्दा पनि सहमति र सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।
उहाँले नेपाली जनताको सात दशकभन्दा लामो संघर्षले प्राप्त संविधानलाई सबैको संविधान बनाउन आवश्यक रहेको पनि बताउनु भयो । नेपाली कांग्रेस निर्वाचन प्रचार प्रसार समन्वय उपसमिति अन्तरगत प्रदेश नं. ५ को मिडिया सेन्टरको मंगलबारबुटवलमा उद्घाटन गर्दै यस्तो विचार व्यक्त गर्नुभएको हो ।
बामपन्थि गठबन्धनले नेपालमा कम्युनिष्ट व्यवस्था ल्याउने सपना देखे पनि त्यो साकार नहुने दावी गर्दै नेता खाँडले भन्नुभयो,“ प्रचण्डका नाती नातिनाले कुन सिद्धान्त लिएर अगाडि बढ्ने हुन् मैले बुझ्न सकेको छैन ।हिंसाको अन्त्य गर्न माओवादीसँगएकता गरेको हो तर सुर्धान सकिएन”, नेता खाँणले भन्नुभयो ।
व्यक्तिगत सम्पत्ति स्वीकार नगर्ने कम्युनिष्ट पार्टिले जनतालाई घर जग्गा दिदैँ हिड्छु भन्ने कुरा कत्तिको सत्य होला, प्रश्न गर्दै कांग्रेसको सरकार बने मात्र जनतालाई मालिक बनाउन सकिने उहाँको तर्क थियो ।
त्यस्तै मिडिया सेन्टरको उद्घाटन कार्यक्रममा स्वस्थ्य मन्त्रि एवम् रुपन्देही क्षेत्र नं. ३ का उम्मेमद्वार तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष दीपक बोहराले बामपन्थी गठबन्धनले असली रुप देखाउन थालेकोले आफुहरु लोकतान्त्रिक गठबन्धनमा लागेको बताउँदैभन्नुभयो, “बामपन्थीहरु झुटको खेति गर्न सिपालू रहेछन् ।”
प्रजातन्त्र र लोकतन्त्रको लागि यो गठबन्धन सफल भएरै छाड्ने बताउँदै नेता बोहराले भन्नुभयो,“ ५ नम्बर प्रदेशको राजधानी रुपन्देही मै बनाएर छाड्छौँ ।” एमालेका कार्यकर्ताले एयरपोर्टको निमार्ण बिथोले पनि त्यसलाई पुरा गर्ने आफुहरु लागिपर्नेबताउँदै आफु पटक पटक सरकारमा पुग्दा सुकुम्बासीहरुलाई रुपन्देहीका विभिन्न ठाँउमा राखेको र अब सरकारमा पुगे समस्या समाधान भएरै छाड्ने समेत बताउनु भयो ।
प्रदेश नम्बर ५ का प्रचार संयोजक विश्वेश्वरप्रसाद बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका पार्टी सभापति एवम् क्षेत्र नं. १ का उम्मेद्वार अब्दुल रज्जाकले बामपन्थिको नाममा कम्युनिष्ट गठबन्धनले लोकतान्त्रिक मुल्यमान्यता माथि प्रहार गर्ने भएकाले नेपाली जनतालाई झस्काएको बताउँदै लोकतन्त्रबादी शक्ति एकजुट भएर अगाडि बढ्न जरुरी भएको बताउनुभयो ।
कार्यक्रममा रुपन्देही क्षेत्र नं. ५ का नेपाली कांग्रेसका उम्मेद्वार भरत शाहले प्रजातन्त्रको स्थापना पछि आर्थिक उदारिकरणले आर्थिक र पूर्वाधार विकासमा ठूलो परिवर्तन आएको बताउनुभयो । उहाँल्े काँग्रेस को सरकार बनेमा समग्र लुम्बिनीमा कृषि, पर्यटन, उद्योग क्षेत्रको विकास हुने दावी गनुभयो ।
कार्यक्रममा रुपन्देही क्षेत्र नंं २ का उम्मेद्वार युवराज गिरी, काजीमान श्रेष्ठ, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, डेस्क संयोजक रामराज पोख्रेल लगायतले आफ्ना विचार राख्नु भएको थियो