चुनावको ‘थ्रेट’ विप्लव समूह – सरकार अन्योलमा

काठमाडौं, २९ कार्तिक — सरकारले प्रदेश र प्रतिनिधिसभा चुनाव सुरक्षाको मुख्य चुनौती नेत्रविक्रम चन्द ‘विप्लव’ को पार्टी नेकपालाई ठहर गरे पनि कारबाहीका स्पष्ट नीति नबनाउँदा सुरक्षा निकाय अलमलमा परेका छन्। स्थानीय तहको चुनावमा पक्राउ गरिएका तीन सय बढी विप्लवका कार्यकतालाई प्रहरीले राजनीतिक दबाबमा ‘निसर्त’ छाड्नु परेपछि अहिले कुन मोडलमा जाने भन्ने विषयमा प्रहरी नेतृत्व रुमल्लिएको छ।

स्थानीय तहकै निर्वाचनलाई आधार मानेर केही काँटछाँट गरेर बनाइएको ‘एकीकृत सुरक्षा रणनीति’ अनुसार प्रहरी परिचालन भए पनि विप्लवका पछिल्ला गतिविधिका कारण प्रहरी परिचालनमा व्यापकता दिनुपर्ने निष्कर्षमा प्रहरी मुख्यालय पुगेको छ।

चुनावी सुरक्षाको मुख्य चुनौतीबारे सात वटै प्रदेश प्रहरी कार्यालयबाट प्रहरी मुख्यालयमा बुझाइएका प्रतिवेदन र विप्लवको फेरिएको कार्यशैलीले प्रहरीले आफ्नो रणनीति परिवर्तन गरेको हो। स्थानीय तहको चुनावमा स्वेच्छाले धरपकड दिएका विप्लवका कार्यकता अहिले भूमिगत जस्तै छन्।

विप्लव माओवादीले स्थानीय तहमा आफ्नो वर्चस्व नदेखिएपछि हाल हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा चुनावमा भौतिक कारबाहीसम्म योजना बनाएको रिपोर्ट प्रहरीको विशेष इन्टेलिजेन्स ब्युरोले पाएको छ।  विप्लवले माओवादी केन्द्र र एमालेलाई केही नगर्ने तर कांग्रेस र राप्रपाविरुद्ध कारबाही गर्ने एजेन्डा पारित गराए पनि ठिक उल्टो गतिविधि गरेपछि प्रहरीको इन्टेलिजेन्स नीति फेरिएको छ।

विप्लवका कार्यकर्ताले माओवादी केन्द्र र एमालेका उम्मेदवारलाई लक्षित गरी बम विष्फोट गराउँदै आएको छ। मंगलबार भने कांग्रेसका उम्मेदवारलाई समेत लक्षित गरी बम विष्फोट गराएको छ।

घटनाको जिम्मेवारी कसैले नलिए पनि विप्लवका कार्यकर्ताले नै गराएको प्रहरी दाबी छ। विशेषगरी रोल्पा, रुकुम, जाजरकोट, सल्यान, सुदूरपश्चिमका कैलाली र कञ्चनपुर, पूर्वको भोजपुर, इटहरी, धरान, संखुवासभामा विप्लवका कार्यकताको पहुँच रहेको प्रहरीको गोप्य रिपोर्टमा उल्लेख छ।

यी जिल्लामा जिल्ला प्रहरी कार्यालय र केन्द्रबाट खटिएका इन्टेलिजेन्सले अहिले विप्लवका कार्यकताको खोजी गरिरहेको छ।

चुनावी विरोधी घटनाहरू
– कात्तिक २४ मा जनार्दन शर्मालाई लक्षित गरी बम विष्फोट।
– कात्तिक २५ र २६ मा रोल्पामा वर्षमान पुनमाथि पुनलाई लक्षित गरी गोली र बम प्रहार।
– कात्तिक २८ मा संखुवासभामा बाम गठबन्धनका नेतालाई लक्षित गरी बम प्रहार।
– कात्तिक २८ मा म्याग्दीमा कांग्रेस उम्मेदवारलाई लक्षित गरी बम प्रहार।
– कात्तिक २८ गते पूर्वमन्त्री एवं एमाले नेता शेरधन राईलाई लक्षित गरी भोजपुरमा बम प्रहार

प्रहरीको गोप्य रिर्पोटमा कपन, बौद्ध, बालाजुको फुटुङ, थानकोट, बलम्बु र नाङ्लेभारेमा विप्लव कार्यकताको केही जमात रहेको उल्लेख छ।

अहिले विप्लवले आफ्ना कार्यकर्तालाई सकभर ‘पक्राउ नपर्नूु भन्दै प्रशिक्षण दिँदै आएको प्रहरीको इन्टेलिजेन्स ब्युरोबाट खुलेको छ। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट चोइटिएर छुट्टै संगठन खोलेका विप्लवले अहिले प्रहरी प्रतिवेदनको ठिक उल्टो माओवादी केन्द्र र एमालेका उम्मेदवारमाथि भौतिक आक्रमणका प्रसास गर्दै आएका छन्। —अन्नपूर्ण पोष्ट दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार