टनकपुरबाट आउने ३० मेगावाट बिजुली रोकियो, अब लोडसेडिङ ?

काठमाडौं, ३ मंसिर – भारतको टनकपुरबाट ३० मेगावाट बिजुलीको आयात रोकिएको छ । नेपाल विद्युत् प्राधिकरणले भारतको पावर ट्रेडिङ कर्पोरेसन (पिटिसी) इन्डियाबाट खरिद गर्दै आएको उक्त परिमाणको बिजुली शनिबार (१८ नोभेम्बर) राति १२ बजेबाट आयात रोकिएको हो ।

पिटिसीले भारतको सिमेन्ट उद्योगबाट खरिद गरी उक्त विद्युत् नेपाल पठाउने व्यवस्था मिलाएको थियो । भारतको सर्वोच्च अदालतले १७ नोभेम्बरमा इन्धनमा आधारित उद्योगलाई पेटकोक इन्धनबाट उद्योग सञ्चालनमा प्रतिबन्ध लगाउने फैसला सुनाएपछि उक्त बिजुलीको उत्पादन बन्द भएको जानकरी पिटिसीले नेपाल विद्युत् प्राधिकरणलाई गराइसकेको छ ।

यसबाट नेपालले पाउँदै गरेको बिजुली अन्योलमा परेको छ । महाकाली सन्धिअनुसार टनकपुरबाट नेपालले निःशुल्क पाउँदै आएको १४ देखि १६ मेगावाट बिजुलीको आयातमा भने कुनै असर परेको छैन ।

यस्तै ढल्केबर–मुजफ्फरपुरबाट नोडल एजेन्सी एनपिटिसी विद्युत् व्यापार निगमसँगको सम्झौताबाट नेपालले १ सय ४५ मेगावाट बिजुली आयात गर्दै आएको छ ।

भारतको सर्वोच्च अदालतले पेटकोक र फर्नेस आयलको प्रयोगलाई भारतभर प्रतिबन्ध लगाएकाले यो प्रसारण लाइन भएर नेपाल आउने विद्युत्समेत प्रभावित हुन सक्ने संकेत देखिएको छ ।

भारतका धेरैजसो तापीय उद्योगले कोइला र प्राकृतिक ग्यासको साटो पेट्रोलियम कोकबाट बिजुली उत्पादन गर्दै आएका थिए । कोइला तथा अन्य स्रोतको तुलनामा सस्तो हुने गरेका कारण भारतमा पेटकोक अत्यधिक मात्रामा खपत हुँदै आएको थियो ।

भारतको सर्वोच्च अदालतले दिल्ली र आसपासका क्षेत्रमा हाल बढिरहेको प्रदूषणलाई मध्यनजर गरी नेसनल क्यापिटल रिजन–एनसिआर (दिल्ली तथा आसपासका सहरी क्षेत्र, हरियाणा, उत्तर प्रदेश र राजस्थान) का उद्योगलाई फर्नेस आयल र पेटकोकको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको सो निर्णयले भारतमा विद्युत्को मूल्य थप बढ्ने भएको छ । भारतमा बिजुलीका लागि अन्य विकल्पमा जान केही समय लाग्ने देखिन्छ ।

सुक्खा याममा नेपालको आन्तरिक उत्पादन कम हुने कारणले गर्दा भारतबाट समेत बढी विद्युत् ल्याउनुपर्ने बाध्यता रहेको छ । त्यसैअनुसार हाल विभिन्न अन्तरदेशीय प्रसारणलाइनमार्फत भारतबाट ३ सय २० मेगावाट बिजुली आयात हुँदै आएको छ ।

पेटकोकमा आधारित विद्युत्गृहमा आएको पछिल्लो संकटबाट नेपाललाई असर पर्न नदिन विभिन्न प्रयास जारी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

पिटिसी इन्डियाले अन्य स्रोतबाट प्राप्त बिजुली नेपाललाई उपलब्ध गराउन वैकल्पिक स्रोतको खोजी गरिरहेको बताइएको छ । पिटिसी र विद्युत् व्यापार निगम दुवै निकायसँग प्राधिकरणले त्यस विषयमा छलफल थालिसकेको छ । चाँडोभन्दा चाँडो यस चुनौतीको समाधान गर्ने गरी प्रयास भइरहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

‘पछिल्लो समय उत्पन्न नयाँ समस्या चाँडै समाधान हुनेमा विश्वस्त छौँ,’ उनले भने, ‘यद्यपि, भारतमा देखिएको पछिल्लो चुनौतीले नेपालमा तत्कालै लोडसेडिङको सम्भावना भने छैन ।’ नेपालका नदीहरूमा पानीको बहाब धेरै नघटेकाले भारतबाट आउने बिजुली प्रभावित हुँदासमेत त्यति समस्या नपर्ने प्राधिकरणले स्पष्ट पारेको छ । टनकपुर भएर आउने बिजुली रोकिए पनि अन्य प्रसारण लाइन भएर आयात बढाइएको छ ।

भारतबाट आउने बिजुली महँगो पर्न सक्ने
पेटकोकमा प्रतिबन्ध लगाइएपछि कोइला र अन्य प्राकृतिक ग्यासको माग बढ्ने भएको छ । ढल्केबर–मुजफ्फरपुर भएर भारतबाट नेपाल आउने बिजुलीको सम्झौता एक महिनाअघि आउँदो डिसेम्बरसम्मका लागि थप गरिएको थियो ।

डिसेम्बरअघि नै फेरि सो सम्झौता नवीकरण गर्नुपर्ने हुन्छ । पछिल्लो समय भारतमा निम्तिएको ऊर्जा संकटले भारतबाट नेपाल ल्याउने गरिएको बिजुलीको मूल्य बढी पर्न सक्ने सम्भावना छ ।

नेपाल विद्युत् प्राधिकरणले भने पेटकोकमा आधारित विद्युत्गृहमा आएको पछिल्लो संकटबाट नेपाललाई असर पर्न नदिन विभिन्न प्रयास भइरहेको जनाएको छ । –नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार