गौचन हत्याका नाइके विदेशबाट व्यापारीलाई धम्क्याएर रकम उठाउँदै

काठमाडौं, ९ मंसिर – निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका नाइकेहरूले विदेशबाट फोन गरी व्यापारीलाई धम्क्याएर रकम असुलिरहेका छन् । गिरोहका मुख्य नाइके समीरमानसिंह बस्नेत र लोप्साङ लामाले विदेशबाट फोन गरी धम्क्याइरहेको स्रोत बताउँछ । हत्यामा संलग्न सातजना प्रहरी हिरासतमा छन् । उनीहरू सबै घटनाका सहायक अभियुक्त मात्र हुन् । हत्याका मुख्य योजनाकार पक्राउ नपर्दा व्यवसायी थप त्रसित भएका छन् । प्रहरीले योजनाकार समूहका एकजनालाई पनि पक्राउ गरेको छैन ।प्रहरी प्रतिवेदनले हत्याराको मनोबल उच्च
प्रहरीले समेत बस्नेत र लामा समूहले गौचनको हत्या गरेको पुष्टि गर्दै प्रतिवेदन सार्वजनिक गरेपछि उनीहरूको मनोबल उच्च भएको छ । सोही कारण उनीहरूले धम्की र असुलीलाई बढाएका छन् । नेपालका ठूला ठेकेदार, सुन व्यवसायी र उद्यमीहरू उनीहरूको निशानामा परेका छन् । प्रहरीले गौचनलाई गोली हान्नेमध्ये राजीव स्याङ्तान एक भएको बताए पनि उनले आफूले गोली चलाएको अस्वीकार गरेका छन् ।

‘डिङटोन’ लगायत मोबाइल एपमार्फत धम्की
शुक्रबार मात्र एक व्यवसायीलाई बस्नेतले फोन गरेर पैसा माग्दै धम्काएका थिए । ‘डिङटोन’ लगायत मोबाइल एपमार्फत व्यापारीहरूलाई फोनमा धम्की आउने गरेको छ । त्यस्ता एपबाट हुने फोनको आइपी ठेगाना तथा सर्भर पत्ता लगाउन कठिन हुने गरेको प्रहरीको भनाइ छ । जस कारण उनीहरूले आतंक फैलाउँदै लगेका छन् ।

धम्काएर पैसा असुली गर्ने उद्देश्यले नै बस्नेत र लामा समूहले गौचनको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलिसकेको छ । उनीहरू आफ्नो योजनाअनुसार नै पैसा असुल्न सफल भइरहेको बताइएको छ । स्रोतका अनुसार हुन्डीमार्फत दुबईमा पैसा पठाउन भन्दै उनीहरूले व्यापारीलाई धम्काइरहेका छन् । पैसा नदिए गौचनको जस्तै हालत बनाइदिने बताएपछि धेरै व्यापारीले डराएर पैसा पठाइसकेको स्रोतको भनाइ छ । प्रहरीका अनुसार गिरोहका नाइके बस्नेत, लामा तथा मनोज पुन तीनैजना भारतमा बसेर धम्की र असुली मच्चाउँदै आएका छन् । प्रहरीले अपरिचित नम्बरबाट आएका फोन नउठाउन व्यवसायीलाई आग्रह गरेको छ ।

भारतीय प्रहरीको असहयोग
मनोज पुनको समूहलाई पक्राउ गर्न प्रहरी दुई वर्षदेखि लागिपरे पनि सफल हुनसकेको छैन । पटकपटक नेपाल प्रहरीको टोली भारत पुगे पनि भारतीय प्रहरीले समेत असहयोग गरेको स्रोत बताउँछ । तीनैजना नाइके इन्टरनेटमार्फत मात्र आफ्नो समूहसँग सम्पर्कमा रहने गर्छन् । भारतीय नागरिकको संरक्षणमा रहेका कारण उनीहरूलाई प्रहरीले पक्राउ गर्नसकेको छैन । गौचन हत्या घटनाको छानबिन समितिका संयोजक डिआइजी गणेश केसी भने अनुसन्धान निरन्तर भइरहेको र हत्याका नाइकेहरूसमेत समातिने दाबी गर्छन् ।

संगठित अपराध मुद्दामा अनुसन्धान
पक्राउ परेकामाथि प्रहरीले कर्तव्य ज्यानका साथै संगठित अपराध ऐनअनुसार कारबाही अघि बढाएको छ । अदालतबाट संगठित अपराधअन्तर्गत म्याद थपिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले बताए । संगठित अपराध ऐनअनुसार मुद्दा चलाउँदा प्रहरीले उनीहरूलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । सजाय पनि ५० प्रतिशत थप हुन्छ । कर्तव्य ज्यान मुद्दामा २० वर्षसम्म कैद सजाय हुनेमा संगठित अपराध मुद्दासमेत चलाउँदा ४० वर्षसम्म कैद सजाय हुन सक्छ । तीन वा धेरै व्यक्ति मिलेर संगठित रूपमा गरेको गम्भीर अपराधमा ५० प्रतिशत सजाय थप हुने प्रावधान छ ।

प्रहरीले गौचनलाई गोली हान्नेमध्ये एक राजीव स्याङ्तान, सहयोग गर्ने पर्साका शिवजी महतो, भारतीय नागरिक मुकेशकुमार पाण्डे, पर्साका सन्तोष गुरुङ र काठमाडौं नागार्जुनका प्रकाश बुढाथोकीलाई २१ कात्तिकमा सार्वजनिक गरेको थियो । सोही घटनामा सहयोग गर्ने वसन्त थेबे र धनराज योङहाङलाई १ मंसिरमा पक्राउ गरेको थियो ।

घटनाका योजनाकार समूहका बस्नेतसहित मनोज पुन, लोप्साङ लामा, बोका भन्ने गंगा लिम्बू, श्यामबहादुर गम्बे, कालेदाइ भन्ने अम्बरबहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा अझै फरार छन् । २३ असोजमा गौचनको शान्तिनगरमा गोली हानी हत्या भएको थियो । हत्यामा दुई सुटरले गोली हानेका थिए । राजीवसहित अम्बरबहादुर रानामगरले गोली हानेका थिए । राना भने फरार छन् । भगौडा आर्मी रहेका उनी पहिलेदेखि नै ‘वान्टेड’ व्यक्ति हुन् । त्यस्तै, प्रकाश बुढाथोकी र रोशन बुढाथोकी मुख्य योजनाकार बस्नेतका आफन्त र मुख्य सहयोगी हुन् ।

प्रहरीको हालसम्मको अनुसन्धानअनुसार गौचनको हत्या र गत वर्ष बुटवलमा युवा संघका नेता दुर्गा तिवारीको हत्यामा एउटै समूहको संलग्नता देखिएको छ । गत चैतमा कुमारीगालमा दावा लामामाथि आक्रमण पनि सोही समूहबाट भएको हो । दावालाई अम्बरबहादुर रानाले गोली हानेको प्रहरी स्रोत बताउँछ ।

तिवारीको हत्या रुपन्देहीका मनोज पुनको समूहले गरेको थियो । त्यसवेला समीर बस्नेत र लोप्साङ पनि उनकै समूहमा थिए । पछि समीर र लोप्साङ पुनसँग टाढा भएका थिए । उनीहरूले ठेकेदारहरूलाई लक्षित गरी धम्क्याएर पैसा उठाउँदै आएका थिए । तर, पटकपटक प्रहरीको टोली उनीहरूलाई पक्राउ गर्न भारत गए पनि असफल भई फर्किंदै आएको छ । — नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार