पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं, ९ मंसिर – आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनमा प्रदेश नम्बर १ का सातवटा, प्रदेश नम्बर ३ का छ वटा, प्रदेश नम्बर ४ का छ वटा, प्रदेश ५ का दुईवटा, प्रदेश ६ का सातवटा र प्रदेश ७ का चारवटा जिल्लामा पहिलो चरणमा निर्वाचन हुँदैछ ।

पहिलो चरणका निर्वाचन अन्तर्गतका सबै मतदान केन्द्रमा कर्मचारी पुगिसकेको र कर्मचारीले मतदान केन्द्र बनाउने काम गरिरहेको जानकारी निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दिएका छन् । महिला, पुरुष र शारीरिक अपाङ्गता भएका मतदाताका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था हुने गरी मतदान केन्द्रको निर्माण भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

पहिलाे चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभाका लागि मङ्सिर १० गते निर्वाचन हुँदैछ । मतदानका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, स्वस्तिक छाप, नङमा लगाउने मसीलगायत ६७ प्रकारका निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पुगिसकेको बताउँदै प्रवक्ता ढकालले पहिलो चरणको निर्वाचन अन्तर्गत दुई हजार ९१९ मतदान स्थलको चार हजार ४६५ मतदान केन्द्रमा ३१ लाख ९१ हजार ९४५ मतदाताले मतदान गर्नु हुने जानकारी दिए।

प्रवक्ता ढकालका अनुसार पहिलो चरणको निर्वाचनमा प्रतिनिधिसभाका लागि १६ जना महिलासहित २८२ जना र प्रदेशसभाका लागि बीसजना महिलासहित ४२० जना उम्मेदवार चुनावी मैदानमा छन् । यसरी पहिलो चरणको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा गरी ७०२ जना उम्मेदवार चुनावी मैदानमा छन् । – गाेरखापत्र दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार