साउदी अरव – तराईको रौतहट स्थित चन्द्रपुर नगरपालिका वडा नं. ८ मा निर्माणाधीन ‘एकीकृत नमुना सन्तपुर बस्ती’ निर्माणका लागी सहयोग संकलन गर्न साउदी अरव पुगेका सिताराम कट्टेल(धुर्मुस) र कुन्जना घिमिरे(सुन्तली) ले ५१ लाख सहयोग संकलन गरेका छन् । धुर्मुसले फेसबुक स्ट्याटस राख्दै उक्त सहयोग संकलन भएको जानकारी दिएका हुन् ।
धुर्मुसको स्ट्यासमा लेखिए अनुसार नोभेम्बर १७ मा रियादमा भएको ‘धुर्मुस सुन्तली साँझ’ बाट झण्डैं ७२ हजार ३ सय ४७ रियाल संकलन भएको थियो भने साउदी अरब स्थित रियाद, हापुफ, दबाम, जुवेल लगायतका स्थानहरुबाट १ लाख १४ हजार ८१ रियाल संकलन भएको हो ।
धुर्मुस सुन्तलीले साउदी अरवबाट जम्मा १ लाख ८६ हजार ४ सय २८ रियाल अर्थात नेपाली ५१ लाख ६ हजार २ सय ६२ रुपैंया सहयोग संकलन गरेका छन् । ‘साउदीबाट नसोचेको सहयोग प्राप्त भयो’ धुर्मुसले हर्षित मुद्रामा भने ‘यो सहयोगले हामीलाई खुसी मात्र दिएको छैन् भावुक पनि बनाएको छ ।’
उनले स्ट्याटस मार्फत सम्पुर्ण सहयोगीलाई धन्यवाद दिँदैं साउदी बासीहरुबाट अझै सहयोगको अपेक्षा लिएको जानकारी दिएका छन् । धुर्मुस सुन्तलीले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्ती करिव ६ करोडको लगानीमा निर्माण हुँदै छ ।
बस्ती निर्माणका लागि सहयोग संकलन जारी रहेपनि अझै फाउण्डेशनलाई २ करोड ९४ लाख सहयोगको अभाव रहेको छ । धुर्मुसका अनुसार यो बस्ती निर्माणका लागि ढिलो गरि सहयोग संकलन भएपनि समयमानै बस्ती निर्माण सम्पन्न गरि पिडितहरुलाई हस्तान्तरण गरिनेछ ।
कार्यक्रम साउदी अरव पारिवारीक समाज नेपाल, सिटिएक्सप्रेस मनि ट्रान्सफर /टेलीमनि बैंक साथै धुर्मुस सुन्तली फाउन्डेसन परिवार आयोजनामा गरिएकाे हाे । धुर्मुस सुन्तली करिव एक साता लामो साउदी बसाई पछि शुक्रबार नेपाल फर्किएका छन् ।