बीसबर्से सवारी प्रयोग चैतदेखि देशभर प्रतिबन्ध

काठमाडौं, १० मंसिर – सरकारले आगामी चैत १ देखि देशैभर बीसबर्से पुराना सार्वजनिक (कालो प्लेट) का सवारी प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ।  त्यसका लागि यातायात व्यवस्था विभागले सम्पूर्ण तयारी गरिसकेको छ। बीसबर्से पुराना सवारी कति प्रयोगमा छन् भनेर अहिले देशभरबाट लगत संकलनको काम भइरहेको विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए। विभागले २०७३ फागुनदेखि काठमाडौं उपत्यकामा बीसबर्से सार्वजनिक सवारी प्रयोगमा प्रतिबन्ध लगाएको थियो।

उपत्यकामा बीसबर्से सार्वजनिक सवारी प्रयोग प्रतिबन्ध नियम कार्यान्वयनमा विभाग सफल भएको उनको दाबी छ। काठमाडौं उपत्यकाभित्र बीसबर्से सार्वजनिक सवारी प्रगोगमा छैन। विभागले उपत्यकामा बीसबर्से सार्वजनिक सावरी प्रयोगमा प्रतिबन्ध लगाएको एक सातामा सबै सवारी हटेको उनको भनाइ छ।

बीसबर्से सार्वजनिक सवारी प्रतिबन्धकै निर्णयले उपत्यकामा अहिले आधुनिक र सुविधासम्पन्न ठूला सार्वजनिक सवारी प्रयोगका आएको पाण्डेले बताए। अहिले चक्रपथमा लामो समयदेखि सवारी चलाउँदै आएका व्यवसायीले पनि आफ्ना सवारी २० वर्ष पुग्नासाथ स्क्र्याप ९कबाडीमा बिक्री० गरेर ठूला सवारी ल्याइरहेका छन्।

बीसबर्से सार्वजनिक सवारी प्रतिबन्धकै कारण उपत्यकामा सार्वजनिक सवारीको प्रयोगका रूप फेरिएको उनको दाबी छ। अहिले उपत्यकाका निजीक्षेत्रका व्यवसायीले पनि पुराना बीसबर्से सार्वजनिक सवारी ‘स्क्र्यापु गर्दै महानगर बस सेवा, भक्तपुर नगर बस, मेट्रो सिटी बसलगायत एक दर्जनभन्दा बढी नाममा आधुनिक र सुविधासम्पन्न सार्वजनिक बस प्रयोगमा ल्याउन बाध्य भएको विभागको भनाइ छ।

विभागले बढ्दो प्रदूषण, सवारी दुर्घटना न्यूनीकरण एवं सवारी मालिकको लागत कम गर्न पनि बीसबर्से सार्वजनिक सवारी प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। तर उपत्यकामा बीसबर्से पुराना सार्वजनिक सवारी प्रयोगमा प्रतिबन्ध लगाएसँगै कतिपय व्यवसायीले उपत्यकाबाहिरको ग्रामीण सडकमा पुराना सवारी गुडाइरहेका छन्।

उपत्यकाबाहिर लगेर प्रयोगमा ल्याइएको बीसबर्से सार्वजनिक सवारी तथा उपत्यकाबाहिरका सडकमा प्रयोग भएका बीसबर्से सवारी फागुन ३० गतेपछि चल्न नपाउने उनले जानकारी दिए। सरकारी निर्णयको उल्लंघन गर्दै बीसबर्से पुराना काला प्लेटका सवारी प्रयोग गरेको फेला परेमा विभागले नियन्त्रमा लिएर ‘स्क्र्यापु गर्न लगाउने पाण्डेले जानकारी दिए।

सवारी प्रतिबन्ध सफल बनाउन विभागले ट्राफिक प्रहरी, प्रहरी, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा व्यवसायी सबैको सहयोग लिने उनले बताए। विभागका अनुसार आर्थिक वर्ष २०७३–७४ सम्म कुल २७ लाख ८३ हजार चार सय २८ सवारी दर्ता छन्। त्यसमा पनि सर्वाजनिक सवारीका रूपमा दर्ता भएका सवारीको संख्या डेढ लाख रहेको विभागको अनुमान छ।

विभागले लागू गरेको बीसबर्से पुराना सार्वजनिक सवारी प्रतिबन्धबाट आर्थिक वर्ष २०५३÷५४ भन्दा पहिले नै सार्वजनिक सवारीका रूपमा दर्ता सबै ‘स्क्र्यापु हुने जानकारी दिएको छ। बढ्दो वातावरण प्रदूषण नियन्त्रणकै लागि विभागले पहिलो चरणमा एक वर्षअघि उपत्यकाबाट सुरु गरेको बीसबर्से सार्वजनिक सवारी प्रतिबन्ध अब देशभर नै लागू गर्न लागेको हो।

विभागले बढ्दो सवारी दुर्घटना न्यूनीकरण एवं सवारी मालिकको लागत कम गर्न पनि बीसबर्से सार्वजनिक सवारी प्रयोगमा प्रतिबन्ध गर्ने निर्णय गरेको पाण्डेको भनाई छ। त्यसका अलाव विभागले सफा, सुन्दर गाउँ सहर योजना सफल पार्न बीसबर्से सार्वजनिक सवारी प्रयोग प्रतिबन्धका कडाईका साथ लागेको जनाएको छ।

  • अन्नपूर्ण पोष्ट दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार