पहिलो चरणको मतदान आज, ३२ जिल्लामा ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभाका लागि मतदान हुँदै

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचनमा हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका निर्वाचन क्षेत्रमा आइतबार मतदान हुँदैछ ।
दुई वर्षअघि संविधान जारी भएपछि पहिलो पटक संघीय संरचनाअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन लागेको हो । पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा मतदान हुनेछ ।

मतदानको समय बिहान ७ देखि साँझ ५ बजेसम्म तोकिएको छ । ‘सम्पूर्ण तयारी भइसकेकाले मतदाताले विवेकपूर्ण निर्णय गर्ने पालो आएको छ,’ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, ‘उत्साहका साथ उपस्थित भएर मतदानमा सरिक हुन आम मतदातालाई आग्रह गर्छु ।’

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ ३७ पदका लागि २ सय ८२ जना उम्मेदवार मैदानमा छन् । जसमा महिला उम्मेदवारको संख्या निकै कम १६ मात्र रहेको आयोगले जनाएको छ । यस्तै, प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रका लागि चार सय २० जना चुनावी मैदानमा छन् । प्रदेशसभामा ४ सय पुरुष र २० जना महिला उम्मेदवार छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाका १ सय ११ पदका लागि ७ सय २ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले चुनावको सम्पूर्ण तयारी पूरा भएको भन्दै निर्धक्क भएर मतदानमा सहभागी हुन आममतदातासँग आग्रह गरेका छन् । ३१ लाख ९१ हजार ९ सय ४५ मतदाताले पहिलो चरणमा आफ्नो मतको सदुपयोग गर्दै छन् ।

पहिलो चरणमा २ हजार ९ सय १९ मतदान स्थल र ४ हजार ४ सय ६५ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ । समानुपातिकतर्फ ८८ दलले भाग लिएका छन् भने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ जिल्लागत रूपमा दलका उम्मेदवारको संख्या फरक–फरक छ। पहिलो चरणमा प्रदेश १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ रहेका छन् ।

प्रदेश ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप रहेका छन् । प्रदेश ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा रहेका छन् । प्रदेश ५ का रूकुम (पूर्वीभाग) र रोल्पा रहेका छन् । प्रदेश ६ का रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा  रहेका छन् । प्रदेश ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा निर्वाचन हुँदैछ । दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा मंसिर २१ गते मतदान हुनेछ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार