६५ प्रतिशत मतदान, शान्तिपूर्ण रुपमा सम्पन्न, दुई स्थानमा पुनमतदान हुने- निर्वाचन आयोग

काठमाडौँ, मंसिर १० गते –  आज सम्पन्न भएको प्रदेश तथा प्रनिनिधि सभाको निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक जानकारी प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा प्राप्त प्रारम्भिक विवरण अनुसार, ६५ प्रतिशतभन्दा बढी मतदान भएको जानकारी प्राप्त भएको छ ।

आज भएको मतदानमा सबैभन्दा बढी बाजुरा जिल्लामा ८० प्रतिशत मतदान भएको छ । मतदानमा खसेको मत प्रतिशतको आँकडा अझ बढ्नसक्ने आयोगले अनुमान गरेको छ ।प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन मुलुकका ३२ जिल्लामा शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको छ । प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ७४ निर्वाचन क्षेत्रमा आज मतदान भएको छ ।

आइतबार साँझ पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त आयोधी प्रसाद यादवले पहिलो चरणको निर्वाचनका लागि कायम भएका ४ हजार ४६५ मतदान केन्द्रमध्ये छिटफूट बाहेक सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताए ।

आज भएको मतदानमा मु्ख्य निर्वाचन अधिकृतले दिनुभएको जानकारी अनुसार, रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नं. ५ को रत्न मा.वि. ‘क’ मतदान केन्द्र र सोही जिल्लाको आठबीसकोट नगरपालिका वडा नं. ११ स्थित राष्ट्रिय मा.वि. गत्तसैना ‘ख’ मतदान केन्द्रमा मतपेटिकामा आगलागी भएको कारणबाट मतदान कार्य स्थगित भएको छ ।

स्थगित भएका मतदान केन्द्रमा मुख्य निर्वाचन अधिकृतले छिट्टै नै पुनः मतदान गर्ने व्यवस्था मिलाउने आयोगले जानकारी दिएको छ । यसरी ४ हजार ४६५ मतदान केन्द्रमध्ये दुईवटा मतदान केन्द्रमा मात्र पुनः मतदान हुने भएको छ । यादवका अनुसार आज मतदान सम्पन्न भए लगत्तै सबैै मतपेटिका सुरक्षित तवरबाट जिल्ला सदुरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गर्ने काम समेत शुरू भइसकेको छ ।

यसरी संकलन भएका मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहन्छन् । ‘मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय र राजनीतिक दल तथा उम्मेदवारहरूको सहमतिमा विश्वसनीय ढंगबाट सुरक्षित स्थानमा राख्ने प्रवन्ध मिलाइएको छ,’ यादवले भने ।

यही मङसिर २१ गते दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान सकिए लगत्तै मतगणना शुरू गर्ने व्यवस्था मिलाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार