हिउमा लुगलुग काम्दै मतदान गरे जनताले, यसको गुण कसरी तिर्छ नेताले

काठमाडौँ, ११ मंसिर – शून्य डिग्री तापक्रम । मधुरो घामको न्यानो पनि बादलले छेकिदिनाले रातको जस्तै ठिही थियो । तैपनि उपल्लो मुस्ताङवासी चिसोको पर्वाह नगरी आइतबार बिहानै मतदानस्थलमा भोट दिन ओइरिए । बाक्ला कपडा लाएर उनीहरूले हिउँ छल्दै मतदान गरे ।  धेरैले चिसोका कारण स्थानीय चुनावमा भन्दा कम भोट खस्ने आशंका गरेका थिए । तर, मतदाताले चिसो खपेरै भोट दिए । हिउँ परेका विकट गाउँका कतिपय मतदान केन्द्रमा ९० प्रतिशतसम्म भोट खसेको छ । अघिल्ला वर्षमा मतदाता जाडो छल्न असोज–कात्तिकमै अन्य जिल्ला जाने गर्थे ।

यसपालि अन्य ठाउँमा गएका मतदाता पनि भोट हाल्न आए । कतिपय स्थानीय चिसो खपेरै बसे । जाडो खप्न नसकेकाहरू डोल्पा गएर बसेका थिए । ‘अनुमान गरेभन्दा धेरै भोट खस्यो,’ मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले भने, ‘जनताको यो उत्साह निकै प्रशंसनीय छ ।’ कुनै पनि केन्द्रमा अवरोध नभई मतदान सकिएको उनले जानकारी दिए ।

डोल्पासँग जोडिएको हिमाली आधारभूत विद्यालय शान्तास्थित मतदान केन्द्रमा ३९ मध्ये ३४ भोट खसेको छ । यो गाउँका मतदाता भोट हाल्न डोल्पा गएर बसेका थिए । आफ्नो गाउँमा हिउँ परेपछि बस्न नसकेर उनीहरू डोल्पा गएका हुन् । सबै आएर भोट हालेर फर्किए ।

भोट हालिसकेपछि उनीहरू सबै पोखरा र नेपालगन्जतिर व्यापार गर्न जाने बताउँछन् । छोसेर, छोन्हुप, सुर्खाङ, लोमान्थाङजस्ता विकट गाउँका मतदान केन्द्रमा ८० प्रतिशतभन्दा बढी भोट खसेको छ । भोट दिँदा वृद्धवृद्धा चिसोले लुगलुग काँपिरहेका थिए । कतिपय चिसोका कारण मतपत्र हातले समाउनै नमिलेको कर्मचारीलाई सुनाउँदै थिए ।

‘भोट दिन पाउँदा खुसी लागेको छ, जाडो भए पनि भोट दिन पाउनु भाग्य हो नि,’ कागबेनीकी ६५ वर्षीया ढोका गुरुङले भनिन् ।यो मौसममा चिसोले सुनसान हुने जोमसोम बजार भोट हाल्न आउने स्थानीयका कारण गुल्जार बनेको छ । अध्ययन र कामको सिलसिलामा बाहिर गएका युवायुवती भोट हाल्न आएपछि आफन्त र साथीभाइसँगको जमघटले रौनक बढाएको छ ।

आफ्ना शुभचिन्तक तथा मतदातालाई सम्बन्धित उम्मेदवारले आइतबार बिहानसम्म बोलाएका थिए । बिहान ११ बजेसम्म जहाजले मतदाता ओसारेको थियो । तल्लो भेगका भन्दा उपल्लो मुस्ताङका केन्द्रमा बढी भोट खसेको छ । चिसो ठाउँका मतदान केन्द्रमा बढी भोट खसेको देखेर धेरैलाई आश्चर्य लागेको छ ।

जनप्रभात आधारभूत विद्यालय छोन्हुप केन्द्रमा १८८ भोट खस्यो । यो केन्द्रमा ३३३ मतदाता थिए । यो कोरला नाकासँग जोडिएको सबैभन्दा माथिल्लो मतदान केन्द्र हो । अत्यधिक जाडोका कारण यो मतदान केन्द्रमा भोट नखस्ने कर्मचारीको अनुमान थियो । ‘झन् हिमाली भेगका केन्द्रमा सोचेभन्दा बढी भोट खस्यो,’ जिल्ला निर्वाचन अधिकारी सीताराम शर्मा लामिछानेले भने । – कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार