‘स्थायित्व र विकासका लागि कांग्रेसलाई बहुमत’

काठमाडौं, ११ मंसिर कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले मुलुकमा राजनीति स्थायित्व र आर्थिक विकासका कार्यक्रम सञ्चालन गरी समृद्धि हासिल गर्न कांग्रेसको बहुमत अनिवार्य भएको बताएका छन् । कांग्रेसको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन ०७४ प्रचारप्रसार समन्वय उपसमितिको आयोजनामा आइतबार आयोजित बुद्धिजीवी भेलामा उनले यस्तो बताएका हुन् ।

कांग्रेस नेतृत्वमा सरकार बनेपछि संविधान जारी गर्ने समयमा असहमति जनाएर बाहिरिएका राजनीतिक शक्तिहरू स्थानीय निर्वाचन र प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सहभागी भएको उनले उल्लेख गरे । ‘यो निर्वाचनमा बहुमतमा आएपछि कांग्रेस नेतृत्वले निर्वाचनमा सहभागी नभएका समूहलाई पनि यसै संविधानअन्तर्गत रहेर आफ्ना एजेन्डा अगाडि सार्ने मार्गमा ल्याउनेछ,’ केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका खाणले भने ।

कांग्रेसको समन्वयकारी भूमिकाले संविधान निर्माणको प्रक्रियाबाट बाहिरिएका शक्तिहरू पनि चुनावमा सहभागी हुने अवस्था सिर्जना भएको उनको भनाइ थियो । लोकतान्त्रिक शक्तिलाई सबल बनाउने र लोकतान्त्रिक धार बलियो बनाउने जिम्मेवारी पनि कांग्रेसमा नै रहेको उनले उल्लेख गरे ।
राजनीतिक स्थायित्वको नारा दिने कम्युनिस्ट पार्टीका सरकार नै सबैभन्दा अस्थिर भएको उल्लेख गर्दै उनले स्थिर सरकार कांग्रेसले मात्र दिएको र दिने दाबी गरे । संविधान निर्माणबाट बाहिरिएका शक्तिलाई स्थानीय निर्वाचन र हालको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सहभागी गराउनु पनि ठूलै उपलब्धि भएको बताए ।

वाम गठबन्धनले ५० वर्ष शासन गर्ने कुरा गरेर लोकतन्त्रवादी सबै नेपालीलाई झस्काएको उल्लेख गर्दै उनले भने, ‘नेपालमा रहेको धार्मिक, सांस्कृतिक, जातीय, भौगोलिक विविधतालाई एकदलीय कम्युनिस्ट व्यवस्थाले सम्बोधन गर्न सक्दैन ।’

बुद्धिजीवी तथा व्यवसायीको सो बृहत् भेलामा योजना आयोगका पूर्वउपाध्यक्ष डा.जगदीशचन्द्र पोखरेल, काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्मा, पूर्वमुख्य सचिव डा.विमल कोइराला त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा.तीर्थ खनियाँ, पूर्वसचिव विश्वप्रकाश पण्डित, पूर्वगभर्नर दीपेन्द्रपुरुष ढकाल, पूर्वराजदूत डा.दुर्गेशमान सिंह, शम्भुराम सिंखडा थिए ।

त्यस्तै, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का, कलाकार भूमिका श्रेष्ठ, प्रा.मथुरा कार्की, पूर्वप्रशासक टीकादत्त निरौला, प्रा.डा.पुष्कर बज्राचार्य, व्यवसायी दिव्यमणि राजभण्डारी, नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठ, साहित्यकार तथा पत्रकार हरि अधिकारी, प्रा.डा. खगेन्द्र भट्टराईले निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन आ–आफ्ना तर्फबाट सुझाब दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार