यसरी गरिँदै छ मतपेटिको सुरक्षा, कोठामा सिलबन्दी गरियो

काठमाडौं, १२ मंसिर –  पहिलो चरणमा सम्पन्न निर्वाचनको मतगणना मंसिर २१ पछि मात्रै हुने भएपछि मतपेटिका सुरक्षा अहिले सर्वाधिक चासोको विषय बनेको छ । मतपेटिका सुरक्षाका लागि निर्वाचन आयोगले तीन घेराको सुरक्षा प्रबन्ध मिलाएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा सेना सुरक्षाका लागि खटिने गरी मतपेटिकाको सुरक्षा प्रबन्ध मिलाइएको आयोगले जनाएको छ ।

दुई चरणको निर्वाचन कार्यतालिका अनुसार १० मंसिरमा ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ क्षेत्रमा तथा प्रदेशसभाका ७४ क्षेत्रमा पहिलो चरणको निर्वाचन भएको थियो ।पहिलो चरणमा मतदान भएका विकट पहाडी तथा हिमाली क्षेत्रको मतपेटिका हेलिकोप्टरमार्फत सदरमुकाम ल्याएर आयोगले अहिले जिल्ला निर्वाचन कार्यालयमा मतपेटिका सुरक्षाका लागि बन्द कोठामा राख्ने र सिल गर्ने काम सुरु गरेको छ ।

सोमबार साँझसम्म १५ जिल्लाका दुई हजार चार सय १० मतपेटिका कोठामा बन्द गरी सिल गर्ने काम भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । ‘राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार राखेर सहमतिका आधारमा मतपेटिकाको सुरक्षा हुनेगरी मतपेटिका राख्ने स्थानलाई सिलबन्दी गर्न थालिएको छ’, प्रवक्ता ढकालले भने, ‘अहिलेसम्म १५ जिल्लाका दुई हजार चार सय १० स्थानको मतपेटिकाका सुरक्षित रूपमा सिलबन्दी गरिसकिएको छ । मंगलबारसम्म ३२ वटै जिल्लाका मतपेटिका सुरक्षित स्थानमा सिलबन्दी भइसक्छ ।’

यसरी मतपेटिका राखी कोठामा सिलबन्दी गरियो
सबै बुथबाट जिल्ला निर्वाचन कार्यालयमा जम्मा भएका मतपेटिका निर्वाचन अधिकृतले अहिले दलका उम्मेदवार, प्रतिनिधिहरूको रोहबरमा सुरक्षित कोठामा राखेर सिलबन्दी गरिरहेका छन् ।

जिल्ला सदरमुकाममा केन्द्रित भएका मतपेटिका बन्दकोठाभित्र राख्नुअघि उम्मेदवारहरूलाई पहिले मतपेटिका राख्ने कोठाको निरीक्षण गराइएको र त्यसपछि मतपेटिका सुरक्षित गर्न अवलम्बन गर्ने कानुनी व्यवस्थाबमोजिम प्रक्रिया पूरा गरी सुरक्षित गर्ने काम भइरहेको आयोगले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयले बन्दकोठाभित्र सम्बन्धित निर्वाचन क्षेत्रका गाउँपालिका तथा नगरपालिकाका नाम भित्तामा टाँसेर त्यहीँ मतपेटिका राख्ने गरी व्यवस्थापन गरेको छ । बलियो गरी कोठाका झ्यालढोका बन्द गरेर मतपेटिका राखेपछि कोठामा निर्वाचन अधिकृतले दलहरूका प्रतिनिधिको रोहबरमा लाहाछाप लगाई सिलबन्दी गरिएको छ ।

दलका उम्मेदवारले निर्वाचन अधिकृतले लगाएको तालामा भर नगरेको ठाउँमा भने आ-आफ्नै ताला पनि लगाएर सिल गरेको आयोगले जनाएको छ । मतपेटिका राखिएका कोठामा प्रतिनिधि, प्रदेशसभा र समानुपातिकतर्फका मतपेटिका अलग्गै छुट्याएर सिल गरिएको छ । मतपेटिका राखिएको स्थानसँगै रहने गरी निर्वाचन क्षेत्रका अधिकृतलाई मतगणना नहुँदासम्म बस्ने व्यवस्थासमेत मिलाइएको छ । मतपेटिका राखिएको कोठाबाहिर तीन घेराको सुरक्षा प्रबन्ध आयोगले मिलाएको छ ।

मतपेटिका राखेको कोठाबाहिर उम्मेदवार, निर्वाचन प्रतिनिधि वा निजले अधिकार दिएको प्रतिनिधि बस्न चाहे निर्वाचन अधिकृतको अनुमतिमा बस्ने व्यवस्था पनि आयोगले गरेको छ । कुनै उम्मेदवारले मतपेटिका राखेको ठाउँ अवलोकन गर्न चाहे उम्मेदवार वा उम्मेदवारका आधिकारिक प्रतिनिधिको रोहबरमा अवलोकनको व्यवस्था पनि मिलाइएको आयोगले बताएको छ ।

यस्तो छ कानुनी व्यवस्था
मतपेटिका सुरक्षाका लागि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन निर्देशिका -२०७४ मा कानुनी व्यवस्था गरिएको छ । आयोगले सोही निर्देशिकाको अधिनभित्र रहेर अहिले मतपेटिका सुरक्षाको व्यवस्था मिलाइएको आयोगले बताएको छ ।प्रवक्ता ढकालले भने, ‘मतपेटिकाको सुरक्षाका लागि निर्वाचनसँग सम्बन्धित छुट्टै ऐन, नियमावलीको व्यवस्था छ, त्यही आधारमा मतपेटिकाका सुरक्षा व्यवस्था मिलाइएको छ ।’

निर्देशिकामा मतदान केन्द्रबाट मतदान अधिकृतले बुझाएका मतपेटिका संकलन गरी प्रत्यक्ष तथा समानुपातिक निर्वाचनमा प्रयोग भएका मतपेटिका छुट्टिनेगरी सकेसम्म एउटै कोठामा सुरक्षित राख्नुपर्ने व्यवस्था छ ।
मतपेटिका राखेको कोठाको झ्यालढोकामा बलियो चुकुल र ताला लगाएर आफ्नो लाहाछापसमेत लगाउनुपर्ने र सो ठाउँमा उम्मेदवार वा उनका प्रतिनिधिले आफ्नो लाहाछाप लगाउन चाहे लगाउन पाउने निर्देशिकामा उल्लेख छ ।

मतपेटिका राखेको कोठा खोल्नुपरे लाहाछाप जाँच्नुपर्ने र त्यसपछि लाहाछाप तोडी कोठा खोलेको मुचुल्का गर्नुपर्ने र मुचुल्कामा निर्वाचन अधिकृतले सहीछाप गरी उम्मेदवार, निर्वाचन प्रतिनिधि वा निजले अधिकार दिएको प्रतिनिधि समेतका सहीछाप गराउनुपर्ने व्यवस्था निर्देशिकामा छ । — अन्नपूर्ण पाेस्ट दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार