काठमाडौं- कुटनीतिक राहदानीको दुरुपयोग गरेको अभियोगमा विशेष अदालतबाट सजाय पाएका माओवादी केन्द्रका उमेदवार शिवपूजन रायको उम्मेदवारी रद्द भएको छ । निर्वाचन आयोगले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का माओवादी उमेद्वार राय विरुद्ध परेको उजुरीको बारेमा निर्णय गर्दै उनको उमेद्वारी खारेज गरेको हो। पहिलो संविधानसभामा सदस्य रहेका राय आफूले पाएको कुटनीतिक राहदानीको दुरुपयोग गरेको अभियोगमा विशेष अदालतबाट सजाय पाएका थिए।
उनीविरुद्ध सोही क्षेत्रका स्वतन्त्र उमेदवार गणेशकुमार सिंहले जिल्लामा र अर्का स्वतन्त्र उमेदवार अनिलकुमार सिंहले कात्तिक १९ गते आयोगमा निवेदन दर्ता गराएका थिए । आयोगले रायको विषयमा निर्णय गर्न ढिला गरेपछि उजुरीकर्ताहरु सर्वोच्चमा समेत रिट दायर गरेका थिए । सर्वोच्चले त्यस विषयमा आयोगसँग जवाफ मागेपछि आयोगले उक्त जवाफ पठाउनु अघिनै रायको उम्मेदवारी खारेज गरेको हो ।
आयोगले प्रतिनिधिसभाको निर्वाचन ऐनअनुसार रायको उम्मेदवारी खारेज गरिएको र सोको जानकारी सम्बन्धित निर्वाचन अधिकृत र उम्मेदवार रायलाई जानकारी गराउने निर्णय गरेको छ । आयोगले शनिबारकै मितिमा उक्त निर्णय गरेपनि आइतबारसम्म सार्वजनिक गरेको छैन ।
विशेष अदालतले २०७२ साउन २६ गते कुटनीतिक राहदानी (सरकारी कागजात) सच्याई हेरफेर गरी अनाधिकृत मानिस विदेश पठाई भ्रष्टाचार गरेको फौजदारी अभियागमा रायलाई ४ महिना कैद र १५ हजारको जरिवानाको फैसला गरेको थियो । उक्त मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ । विशेष अदालतबाट दोषी ठहर भएर पुनरावेदन भइ सर्वोच्चमा विचाराधिन मुद्धामा पूर्व मन्त्री गोविन्दराज जोशीको उमेद्वारी खारेज भएसँगै रायको पनि उमेद्वारी खारेज हुने अड्कल काटिएको थियो।
पहिलो संविधानसभा तात्कालिन सर्लाही निर्वाचन क्षेत्र नम्बर ६ बाट संघीय समाजवादी फोरमबाट निर्वाचित राय दोस्रो संविधानसभामा तराई मधेस सदभावना पार्टीबाट उमेदवार भई पराजित भएका थिए । यतिबेला उनी माओवादीबाट उम्मेदवार बनेका थिए । यतिबेला रायका प्रतिस्पर्धीका रुपमा नेपाली काँग्रेसबाट अमरेशकुमार सिंह र राजपाबाट राकेश मिश्र उम्मेदवार छन् ।