दाङ, १३ मंसिर — दाङको तुलसीपुरमा अज्ञात समूहले गराएको बम विष्फोटमा घाइते भएका एक म्यादी प्रहरीको उपचारको क्रममा मृत्यु भएको छ । विष्फोटमा गम्भीर घाइते तुलसीपुर उपमहानगरपालिका १८ का विनोद चौधरीको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा आज बिहानै ज्यान गएको दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन् ।
गम्भीर घाइते भएका अन्य तीन जनाको पनि कोहलपुर मेडिकल कलेजमै उपचार भइरहेको छ । अरु पाँच जनाको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा म्यादी प्रहरी देबी डिसी, सुनिता चौधरी, बमराज सुनार, नेवबहादुर केसी, पार्वती केसी ,नरदेवी बुढाथोकी र हिमलाल रसाइली छन् । सोही ठाउँ निवासी १९ बर्षका अर्का म्यादी प्रहरी विनोद चौधरी भने उपचार पछि घर फर्किएका छन ।
घाईते तीन जनाको नेपालगञ्जमा उपचार भैरहेको छ । तुलसीपुर उपमहानगरपालिका ७ डाँडापातु निवासी २२ बर्षकी जेनी डेसी, बबई गाउँ पालिका ६ पञ्चकुले निवासी, ३६ बर्षका नेपबहादुर खत्री र सल्यानको बागचौर नगरपालिका २ थारमारे निवासी ४० बर्षका देवि डिसीको नेपालगञ्जमा उपचार भैरहेको छ ।
यस्तै मानपुर निवासि बर्ष ४० का बोमराज सुनार, शान्तिनगर गाउँपालिका २ अमुवा निवासी ५० बर्षका हीमलाल रामजाली, वुड्कवा निवासी १८ बर्षकी सुनीता चौधरी र सल्यान ढोरचौर गाउँपालिका २ चाख्लीघाट निवासी ४५ बर्षकी नरभूमि बुढाथोकीको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलामा आएका दुईजना अपरिचित व्यक्तिले विरेन्द्र चोकदेखि एक सय मिटर पश्चिम सडकमा मंगलवार अपरान्ह चार बजे बम फयाँके लगत्तै ठूलो आवाजमा विष्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् । विस्फोट गराउने कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएको छैन ।