प्राध्यपकहरुको बृहत् भेला, कांग्रेसलाई विजयी गराउन अपिल !

काठमाडौं, १४ मंसिर – प्रजातन्त्रवादी प्राध्यापक संघले यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा लोकतान्त्रिक शासन पद्धति र मुलुकको समृद्धिको लागि समर्पित नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई अत्यधिक बहुमतले विजयी बनाउन अपिल गरेको छ । संघको आयोजनामा बिहिबार सानेपामा भएको प्रजातन्त्रवादी प्राध्यापकहरुको एक बृहत् भेलाले सो निर्णय गरेको हो ।

भेलापछि संघले जारी गरेको अपिलमा नेपाली कांग्रेस स्थापनाकालदेखि नै लोकतान्त्रिक पद्धतिको स्थापना र त्यसका माध्यमबाट देशको विकास र समृद्धिको लागि समर्पित रहदै आएको उल्लेख गरिएको छ । अपिलमा भनिएको छ, “ हामी प्राध्यापन क्षेत्रका संलग्न प्रजातन्त्रवादी प्राध्यापकहरु मुलुकमा लोकतन्त्रको संस्थागत विकास र संविधानले परिकल्पना गरेको सामाजिक सांस्कृतिक सद्भाव र समृद्धि सहितको राष्ट्र निर्माण नेपाली कांग्रेसको नेतृत्वमामात्र संभव छ भन्ने निश्कर्षमा पुगेका छौ ।

तसर्थ प्रतिनिधि र प्रदेश सभाका लागि हुन लागेको निर्वाचनमा लोकतन्त्रको संबाहक नेपाली कांग्रेस पार्टीलाई विजयी गराउन आम मतदाता, सबै पेशा र व्यवसायका नागरिक तथा प्रबुद्ध वर्गमा हार्दिक अपील गर्दछौ ।”

पाली कांग्रेसले नै २००७ सालमा राणा शासनको अन्त्यगरी मुलुकमा पहिलोपटक लोकतन्त्र स्थापना गरेको र ३० बर्ष लामो पञ्चायती शासनको अन्त्य पनि नेपाली कांग्रेसको नेतृत्वमा भएको उल्लेख गर्दे अपिलमा भनिएको छ,“२०६२ ÷ ६३ को संयुक्त जनआन्दोलन नेपाली कांग्रेसकै नेतृत्वमा संभव मात्र भएको होइन, नेपालमा गणतन्त्र स्थापना पनि कांग्रेसकै प्रतिबद्धता र नेतृत्वमा संभव भएको हो ।

संविधानसभाको विषय नेपाली कांग्रेसले उठाएको हो र संविधानसभा मार्फत संविधान जारी गर्ने कामको नेतृत्व पनि नेपाली कांग्रेसले नै गरेको हो । यस अर्थमा नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको एक मात्र अग्रणी पार्टी मात्र होइन , लोकतन्त्रको पर्याय बन्दैआएको छ ।”

पछिल्लो समयमा नेपाली राजनीतिमा कम्युनिष्ट र लोकतन्त्रवादीका बीच भएकोे ध्रुवीकरणले संविधानले प्रत्याभूत गरेका आमनागरिकका आधारभूत मौलिक अधिकारमाथि नै चुनौति आउन सक्ने संकेत गरेको उल्लेख गर्दै अपिलमा भनिएको छ,“२०७४ सालमा हुँदैगरेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एउटा स्वभाविक आम निर्वाचन मात्र भईरहको छैन, यसले अधिनायकवाद र लोकतन्त्रबीचको जनमत संगहरुको रुप लिएको छ ।

यो निर्वाचनमा दुईतिहाइ बहुमत ल्याउने र संविधान संशोधन गरी व्यवस्था परिवर्तन गर्ने र पचास वर्षसम्म एकछत्र शासन गर्ने जस्ता अभिव्यक्ति केही राजनीतिक दल खास गरी कम्युनिष्ट गठबन्धनबाट आउने गरेको छ । उसको यो चाहनाले नेपालीको अथक प्रयासबाट बनेको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र नागरिकको लोकतन्त्रको चाहनामाथि खेलबाड हुने खतरा बढेको छ ।”

लोकतन्त्रवादी शक्तिले निर्वाचनमा विजय पाएमा मात्र नेपाली जनताले हाल उपभोग गरिरहेको अधिकार र लोकतान्त्रिक शासन पद्धतिको रक्षा सम्भव भएको उल्लेख गदै संघद्धारा जारी गरिएको अपिलमा भनिएको छ, “नेपाली नागरिकले निर्वाचित गरेको संविधानसभाले बनाएको नेपालको संविधान २०७२ ले बहुलवादमा आधारित बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन,पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्रको परिकल्पना गरेको छ । अहिलेको निर्वाचन यो संविधानको कार्यान्वयनको लागि हो ।

युवा पुस्ताका साथै आम नागरिकका भावना र चाहनालाई यो संविधानले संबोधन गर्न संभव छ । तर संविधानमा आमूल परिवर्तन गरेर व्यवस्था नै बदल्ने र नयाँ पुस्ताले गरेको अपेक्षा नेपालका राजनीतिक दलले पूरा नगरेका कारण सिर्जित आक्रोशको मार लोकतन्त्रमाथि नै पर्ने खतरा छ । लोकतन्त्रको संबद्र्धनबाट मात्र युवाहरुको आक्रोश संबोधन गर्न संभव छ । आज लोकतन्त्र र अधिनायकवादका बीच सोझो लडाई हुने खतरा बढेको छ । युवा पुस्ताले आज उपभोग गरिरहेको स्वतन्त्रता फेरि पनि मतदान गर्न पाउने अधिकार सुरक्षित गर्न मुलुकको लोकतान्त्रिक दललाई मतदान गर्नुको अर्को विकल्प छैन ।”

प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष सहप्राध्यापक जगत तिमिल्सिनाको सभापतित्वमा सम्पन्न सो भेलालार्ई संघका निर्वतमान अध्यक्ष प्रा। बासुदेव घिमिरे , नेपाल प्राध्यापक संघका पूर्व अध्यक्षहरु प्रा। केशवानन्द गिरि,प्रा। खगेन्द्र भट्टराई र रामेश्वर उपाध्याय, त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष प्रा। चूडाराज उप्रेती, त्रि. वि. प्राध्यापक संघका अध्यक्ष शिवप्रसाद मुनंकर्मी, पद्मकन्या क्याम्पसका क्याम्पस प्रमुख रेणुका बज्राचार्य र संघका महासचिव राजेन्द्र गौतम लगायतका प्राध्यापकहरुले बोल्नुभएको थियो ।

भेलालाई संबोधन गर्दै संघका अध्यक्ष तिमिल्सिनाले यो निर्वाचन लोकतन्त्र र एकदलिय अधिनायकवादी शासन पद्धतिका बीचमो लडाई भएको उल्लेख गर्दै भन्नुभयो ,“कम्युनिष्टहरुले जिते भने देश विसौ बर्ष पछाडि फर्कन्छ , हामीले प्रजातन्त्रका लागि अर्को आन्दोलन गर्नुपर्ने अवस्था आउछ ।” भेलालाई संबोधन गर्दै संघका पूर्व अध्यक्ष प्रा. बासुदेव घिमिरेले नेपालको संविधान २०७२ नेपाली कांग्रेसको नेतृत्वमा आएको र संविधानको सफल कार्यान्वयन पनि नेपाली कांग्रेसकै नेतृत्वमा हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले बाम गठबन्धनको नाममा मुलुकलाई कम्युनिष्टहरुले पुन अराजकताको खाडलतिर लैजाने प्रयास गरेको उल्लेख गर्दै सबै प्रजातन्त्रवादी प्राध्यापकहरु सजग र सचेत भएर नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउने अभियानमा लाग्नुपर्ने बताउनुभयो ।

सहभागी प्राध्यापकहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका महासचिव राजेन्द्र गौतमले अबको युग सद्भाव, समृद्धि र विकासको युग भएको उल्लेख गर्दे नेपाली कांग्रेसलाई विजयी गराउन सबैलाई अनुरोध गर्नुभएको छ । उहाँले सम्पूर्ण प्राध्यापकहरुलाई सक्रियतापूर्वक मतदातामाझ पुगेर नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार