दोस्रो चरणको निर्वाचनको तयारी पुरा – निर्वाचन आयोग

काठमाडाै, १५ मंसिर — प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणमा मंसिर २१ गते हुने निर्वाचनको तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । ४५ जिल्लामा हुने दोस्रो चरणको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका हुन् ।

बिहीबार काठमाडौंमा आयोजित निर्वाचन र सामाजिक सञ्जाल विषयक अन्तरक्रिया कार्यक्रममा ढकालले निर्वाचनमा आम मतदाताले आफ्नोे प्रतिनिधि आफैँ छान्न पाउने वातावरण बनाउन आफूहरु लागि परेकोसमेत स्पष्ट पारे । निर्वाचन आयोगले आवश्यक मतदाता शिक्षा दिने क्रम जारी रहेको र सो कामसमेत प्रभावकारीरुपमा अघि बढिरहेको प्रवक्ता ढकालले बताए ।

त्यस्तै निर्वाचनका लागि आवश्यक सुरक्षाको प्रवन्ध पनि गरिसकिएको ढकालले बताए । उनले निर्वाचन आयोगले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरोकारवाला निकायसँगको छलफललाई निरन्तर अघि बढाईरहेको बताए । प्रवक्ता ढकालले निर्वाचनलाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न निर्वाचन आयोगले सरोकारवाला निकायहरुसँग परामर्श तथा छलफल गरिरहेको जानकारी दिए ।

पहिलो चरणमा मंसिर १० गते आइतबार ३२ जिल्लामा निर्वाचन भइसकेको छ । निर्वाचन आयोगले पहिलो चरणमा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भएको निष्कर्ष निकालेको छ । पहिलो चरणको निर्वाचनपछि भने उम्मेदवारहरु लक्षित बम विस्फोटका घटना बढेका छन् । त्यसअघि पनि त्यस्ता घटना भइरहे पनि पछिल्ला दिनमा उम्मेदवारमाथिका हमला बढेका हुन् ।

बुधबार उदयपुरमा कांग्रेस उम्मेदवारमाथि बम आक्रमण हुँदा उदयपुर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायण कार्कीलगायत घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार