पतिले ठट्टा मै भने– ‘फोटो शेयर गरिदिन्छु’, पत्नीले गरिन् आत्महत्या

(एजेन्सी) इन्दौर – पतिले ‘ह्वाट्सएप’ मा एउटा तस्वीर सार्वजनिक गरिदिन्छु भनेर ठट्टा गरेलगत्तै पत्नीले आत्महत्या गरेको तथ्य प्रकाशमा आएको छ ।

भारतको उज्जैनमा चर्म रोग विशेषज्ञ डा. नलिन पाटनीले पत्नीसँग ठट्टा गर्दै तस्वीर सार्वजनिक गर्ने बताएका थिए । भारतीय संचारमाध्यमका अनुसार उनकी पत्नीको अघिल्लो दाँतमा समस्या आएपछि मंगलबार दुवैजना एक दन्त क्लिनकमा पुगेका थिए । चिकित्सकले दाँत नै फुकाल्नुपर्ने सुझाव दिएपछि उनीहरु केही दिनमा दाँत फुकाल्ने निष्कर्षका साथ त्यहाँबाट फर्किएका थिए ।

भारतीय संचारमाध्यमका अनुसार घरमा पुगेपछि डा. नलिनले आफ्नी पत्नीलाई ठट्टा गर्दै ‘तिम्रो दाँत फुकालेपछि म एउटा तस्वीर लिएर ह्वाट्सएपमा सार्वजनिक गर्छु’ भनेका थिए ।

लगत्तै पत्नी आफ्नो कोठाभित्र गएको र केहीबेरमा बाहिर आएर आफूले विष सेवन गरेको बताएको नलिनलाई उद्धृत गर्दै विभिन्न संचारमाध्यमले जनाएका छन् ।

बुधबार शव परीक्षण गरिएको थियो । सो क्रममा अस्पतालमा डा. नलिन पनि थिए । उनले आफन्तहरुलाई घटनाबारे बताउँदै भने, ‘मैले गरेको ठट्टालाई उनले यति नराम्रो मान्छिन् र आत्महत्या नै गर्छिन् भन्ने थाहा पाएको भए यस्तो ठट्टा गर्ने नै थिइनँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार