दाङ, १७ मंसिर – आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न चुनाव हुनु भन्दा तीन दिन अघिदेखि नै नेपाल–भारत सीमा वन्द गरिने भएको छ ।
गत मंसिर ५ गते बाँकेमा भएको दुइ देशका सुरक्षा अधिकारीको वैठकको निर्णयअनुसार दुबै देशले चुनावको ७२ घण्टाअघि नै सीमा वन्द गर्ने सहमति भएको दाङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद आचार्यले जानकारी दिए ।
जसअनुसार मंसिर १८ गतेदेखि मतदान सम्पन्न नहुँदासम्म अत्यावश्यकीय सेवाबाहेक अन्य सबै प्रकारका आवतजावत निषेध गरी सीमा सिल गरिने उनले बताए ।
अहिले ती क्षेत्रमा विशेष सुरक्षा सर्तकता अपनाईएको छ । नेपालको सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षाका खटिएका भारतीय सीमा बलले संयुक्त रुपमा नाका क्षेत्रको सुरक्षा ब्यवस्था कडाई गरेको उनले बताए ।
नाका क्षेत्रमा हतियार ओसारपसार हुन सक्ने तथा निर्वाचन बिरोधी शक्तिहरुको घुसपैठ हुन सक्ने खतरा रोक्न सशस्त्र प्रहरीले हरेक नाका क्षेत्रहरुमा निगरानी बढाउनुका साथै विशेष ‘अप्रेशन’ थालेको छ । दाङमा नेपाल भारत सीमा जोडिएका ३१ वटा साना ठूला नाका छन् ।
नेपाल भारत सीमा नाकाहरु निर्वाचन सुरक्षाका लागि निकै संवेदनशील मानिन्छन् ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोईलावासका प्रमुख सशस्त्र प्रहरी निरिक्षक ईश्वर डिसीले नाका क्षेत्रहरुबाट निर्वाचन विरोधी गतिविधी नहोस् भनेरै विशेष सुरक्षा रणनीति अपनाईरहेको बताए ।
उनका अनुसार नाकाबाट नेपाल भारत आवत जावत गर्ने नागरिकहरुको चेक जाँचमा अत्यधिक कडाई गरिएको छ । यसैगरि हरेक नाकाहरुमा सशस्त्र प्रहरीले ‘सर्च अप्रेशन’ चलाएको छ ।
नेपाल भारत आवत जावत गर्ने हरेक नाकाहरुमा चेकजाँच कडाई गर्नुका साथै नाका क्षेत्रहरुमा विशेष गस्ती टोली परिचालन गरेर सुरक्षा निगरानीलाई बढावा दिएको सशस्त्र प्रहरी निरिक्षक डिसीले बताए ।
नेपालको निर्वाचन सुरक्षाका लागि भारतसँग जोडिएका सीमा क्षेत्र चुनौती नबन्ने प्रहरीले बिश्वास लिएको छ ।
यसका लागि पुरै शक्ति परिचालन गरेको प्रहरीले वताएको छ । सशस्त्र प्रहरी निरिक्षक डिसीका अनुसार अनुसार अहिलेसम्म नाका क्षेत्रमा निर्वाचन विरोधी क्रियाकलाप भएको छैन ।
पछिल्लो साता प्रहरीको सक्रियता झनै बढेको छ ।
नेपाल भारत सीमा क्षेत्र मध्य कोईलवास नाकामा मात्रै सीमा सुरक्षाबलको पोष्ट छ । अन्य नाकाहरु खुलै छन् । यसर्थ पनि नेपाल भारतीय सीमा क्षेत्रहरु सुरक्षा चुनौतीका हिसावले अत्यन्त जोखिमको सुचीमा पर्छन् । “हाम्रो जनशक्तिले भ्याएसम्म हरेक नाकाहरुमा गस्ती बढाएका छौँ,” सशस्त्र प्रहरी निरिक्षक डिसीले भने, “कुनै पनि नाकाबाट निर्वाचन विरोधी शक्ति र हात हतियार प्रवेश हुन नदिनेमा हामी सकृय छौँ ।”
नेपाल भारत सीमा क्षेत्रमा पर्ने दाङको ८३ किलोमिटर क्षेत्र यातायात सेवाबाट बञ्चित छ । कोईलावास बाहेक अरु सबै नाकाहरुमा पुग्न पैदल हिँड्नुपर्छ । यातायातको चरम असुविधा रहेको नाका क्षेत्रको सुरक्षामा यसले पनि प्रभाव पारेको छ । अर्थात समयमा सुरक्षा निकाय समेत सबै ठाउँमा पुग्न सक्ने अवस्था छैन ।