किराँत समुदाय आज उधौली पर्व मनाउँदै- राष्ट्रपतिबाट शुभकामना

काठमाडौं, १७ मंसिर – किराँत समुदायले हर्षोल्लासका साथ आज उधौली पर्व मनाउँदै छन् । उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसींतिर बसाई सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याएको खुशीयालीमा मनाइने चलन छ ।

प्रकृतिपूजक किराँत समुदायको भाषा, संस्कार र संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीका अवसरमा संसारभरका किराँत समुदायले यो पर्व मनाउने गर्दछन् । विशेष गरी किराँत राईको बसोबास रहेको पूर्वी पहाडी जिल्ला भोजपुर, धरान, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बुलगायत काठमाडौंमा यो पर्व मनाउने गरिन्छ ।

उधौलीका अवसरमा यस समुदायका मानिस एकै ठाउँमा भेला भएर दुःख–सुख साट्दै संस्कृति झल्काउने पोशाकमा हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर विभिन्न सोकवा साकेवा नाच्ने गर्दछन् ।

यसैबीच नेवार समुदायले यस दिनलाई योमरी पुन्हीका रुपमा मनाउँछन् । नेवारी समुदायमा योमरी पुन्हीको विशेष महत्व छ । योमरीको अर्थ सबैलाई मनपर्ने रोटी भन्ने हो । नयाँबालीका रुपमा भित्र्याइएको नयाँ धानको चामल पिसेर त्यसबाट बनाइएको रोटी बाँडीचुँडी खाने गरिन्छ । अण्डाकार रुपमा बनाइएको पीठोको रोटीभित्र चाकु र तिलको मिश्रणले तयार पारिएको खुवा हालेर योमरी बनाइन्छ ।

परम्परादेखि कृषि पेशा गर्दै आएको नेवार समुदायका ज्यापुहरुको अन्योन्याश्रित सम्बन्ध रहेको सन्दर्भ जोड्दै एक दशकअघि सरकारले ज्यापू दिवसको रुपमा पनि मान्यता दिएको थियो । यसै दिन बाहुन क्षेत्री समुदायले भने आ–आफ्नो दिवाली गर्ने गर्दछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उधौली पर्वका अवसरमा बेग्लाबेग्लै शुभकामना सन्देश दिएकी छन् । उधौली पर्वको उपलक्ष्यमा शुभकामना दिँदै उनले नेपालका विभिन्न जातजाति र समुदायले मनाउने चाडपर्वले नेपाललाई साझा फूलबारीका रुपमा श्रृङ्गार गर्दै आएका र उधौलीजस्ता चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार