कम्युनिष्टहरु फटाहा कुरा गर्छन्, विकास कांग्रेसले गरेको हो- प्रधानमन्त्री देउवा

कैलाली, १७ मंसिर – प्रधानमन्त्री शेरबहादुर देउवाले अबको निर्वाचनमा आफ्नो पार्टीको बहुमत आउने दाबी गरेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो दाबी गरेका हुन् । उनले भने,“अबको निर्वाचनमा हाम्रो पार्टीले बहुमत ल्याउँछ, बामपन्थीहरुलाई जनताले भोट हाल्दैनन्, यो कुरा बुझेहुन्छ।”

देउवाले कांग्रेसको बहुमत आउने मात्रै नभएर अबको प्रधानमन्त्री समेत आफू नै बन्ने दाबी समेत  गरे । देउवाले थपे,“कांग्रेसको बहुमत आउँछ । कांग्रेसको नेतृत्वमा सरकार बन्छ, सरकारको नेतृत्व म गर्छु।”

निर्वाचन सम्पन्न भएपछि मुलुक संविधान कार्यान्वयनको चरण पूरा गरि आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने उल्लेख गर्दै देउवाले भने,“संविधान धेरै राम्रो छ, यो संविधान कार्यान्वयन गर्ने कुरा महत्वपूर्ण हो, २१ गतेको निर्वाचन सम्पन्न भएपछि मुलुकमा स्थायी रुपमा गण्तन्त्र कार्यान्वयन भएर जान्छ । देउवाले चुनाव गराउँदै भन्ने झुटा कुराहरु भए, संविधान कार्यान्वयन त मैले गराएर छोडें । संविधान कार्यावयनसँगै अब मुलकु समृद्धिको यात्रामा अघि बढ्छ।”

भोट हालेपछिपनि चुनावसारेको सपना देख्नेहरु रहेको भन्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति व्यंग्य गरे । एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले कम्युनिष्ट शासन ल्याउन खोजेको उनको आरोप थियो । उनले थपे,“कम्युनिष्ट शासन आउनु भनेको यो संविधान च्यात्नु हो, आदिवासी, जनजाति, महिला, थारुहरुको हितमा अहिलेको संविधान छ, यो राम्रो छ, तर उनीहरुको शासन आयो भने समावेशीतालाई खत्तम पार्न खोजेको हो ।”

जनताले कम्युनिष्ट शासन नरुचाउने उनको तर्क थियो । “कम्युनिष्ट शासन आउनु भनेको महिलाहरुको अधिकार खोसिने हो, जनताको अधिकार खोसिने हो, दलितहरुको अधिकार खोसिने हो, राष्ट्रपति पद्धतीमा जानु भनेको अधिकार खोसिनु हो, यो कुरा जनतलो बुझिसक्या छन, त्यसैले उनीहरुको पक्षमा किन भोट हाल्ने ? जनताले कांग्रेसलाई नै भोट हाल्छन्।”

नेपालको विकास कांग्रेसको कारण भएन भनेर एमाले र माओवादी केन्द्रका नेताहरुले आरोप लगाउनु नै गलत भएको देउवाको टिप्पणी थियो । “नेपाली कांग्रेसबाहेक कसले विकास गर्यो, पहिला एउटा एयरलायन्स थियो अहिले कतिवटा छन्, यो कसले गरेको हो ? पहिला एउटा विश्वविद्यालय थियो, अहिले कति वटा छन् ?, मेडिकल कलेज हेर्नुहोस, सडकहरु कसले गाउँगाउँ पुर्यायो ? कालोपत्र बाटो, वीचमा हिँसात्मक द्धन्द्ध नभएको भए धेरै विकास हुन्थ्यो ?”

उनले आफूले सुदुरपश्चिमको विकासको लागि धेरै काम गरेको विश्वास दिलाए । “मसँग विकासका गुरुयोजनाहरु धेरै छन्, सुदुरपश्चिमका गाउँगाउँमा रोड पुगेको छ। गउदेखि बजारसम्मको बाटोहरु बनेका छन्, किसानहरुले आफ्ना उत्पादन अब गाउँमा बेच्न पाउन्, गाउँठाउँमै बाटो होस् । घरमै बजार आयो, कृषकहरुको देश भएकोले उनीहरुको सहजताका लागि कच्ची बाटाहरुलाई अब पीच बनाईन्छ ।”

प्रधानमन्त्री देउवाले नेपालका कम्युनिष्टहरुले विकास गर्नुको साटो सपना मात्रै बाँडेको आरोप लगाए । “कम्युनिष्टहरुले खोई विकास गरेको ? उनीहरुले नारा मात्रै लगाएका छन् । विकास गर्यौं भन्नु यी सब बकवास कुरा हुन, जति पनि विकास भएका छन्, सबै कांग्रेसले नै गरेको हो।” देउवाले भने ।

कम्युनिष्ट शासन आयो भने मुलुकमा अधिनायकवाद आउने भनेर आफूले भनेको कुरा उल्लेख गर्दै देउवाले थपे,“कुन कम्युनिष्ट शासन भएका देशमा चुनाव भएको छ र ? यहाँका वामपन्थहिरुले (उनीहरुले) आँफै कम्युनिज्म ल्याउने भनेका छन् । यो भनेको नै अधिनायकवाद हो नि।”

वामपन्थीहरुको बहुमत त नआउने भएकोले कहाँबाट दुई तिहाई ल्याउने भन्दै देउवाले कटाक्ष गरे । उनले भने,“उनीहरुको बहुमत त आउँदैन, कहाँबाट दुई तिहाई आउँछ? जनतलो यो कुरा बुझेका छन् कि राष्ट्रपतिय प्रणाली भनेको यो संविधान च्यात्ने भनेको होईन र ?” कम्युनिष्ट शासनमा अन्याय भयो भनेर कहाँ बोल्न पाईन्छ भन्दै उनले प्रश्न समेत गरे । यद्धपी लोकतान्त्रिक व्यवस्थामा भने आफ्नो कुरा राख्ने पाउने स्वतन्त्रता हुने भएकोले जनताले लोकतान्त्रिक शक्तिहरुलाई अत्यधिक बहुमत दिएर विजयी गराउने विश्वास व्यक्त गरे ।

मधेशीहरुको अधिकार सुनिश्चि गर्नको लागि आफ्नो पार्टीले विगतमा पनि पहल गरेको भन्दै भविष्यमा पनि मधेशी जनताको चाहना अनुसार संविधान सुधार भैरहन सक्ने देउवाले विश्वास जनाए ।

उनले पटक पटक दोहोर्याएर भने,“नेपाली कांग्रेस विकास गर्न चुकेको छैन। यो सब काम हामीले बनाएका छौं । कम्युनिष्टहरुले हामीले विकास गर्यौं भन्नु फटाहा कुरा हो । महाकाली सन्धि मैले गरेको हो, अहिले कार्यान्वयन हुँदैछ । बाटो मैले ल्याएको हुँ । लोकतन्त्रको लागि मैले कहिल्यैपनि सम्झौता गरेको छैन।”

उनले निर्वाचनमा आम मतदाता तथा उम्मेद्धवारहरुलाई सुरक्षा दिनको लागि सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै भने,“चुनावमा शान्ति दिनको लागि सुरक्षा निकाय सक्षम छन् । मतदाताहरुलाई कुनै समस्या छैन, सुरक्षाको पूर्ण प्रत्याभुति दिन्छु ।”

देउवाले आफ्नो जित सुनिश्चि भैसकेको समेत दाबी गरे । उनले भने,“अरु जिते माननीय हुने हो, म जिते प्रधानमन्त्री हुन्छु, सुदुरपश्चिमको को प्रधानमन्त्री हुन्छ ? म त प्रधानमन्त्री भैसकें, अब पनि प्रधानमन्त्री म नै हुँ, मेरो जित भैसक्यो ।”

एमाले अध्यक्ष केपी शर्मा ओलीले अब देउवा अन्तिम प्रधानमन्त्री भनेर दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै देउवाले भने,“म त फेरि पनि प्रधानमन्त्री बन्ने पक्का भैसक्यो, बरु ओली अब कहिल्यै पनि प्रधानमन्त्री बन्नुहुन्न । किनकी बहुमत हाम्रो आउने सुनिश्चित् छ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार