दोस्रो चरणको निर्वाचन मतदान सुरू, प्रत्यक्षतर्फ ४ हजार बढी उम्मेदवार प्रतिस्पर्धामा

सुशिल पन्थी

२१ मंसिर, काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन बिहीबार बिहान ७ बजेदेखि सुरु भएको छ  ४५ जिल्लाका निर्वाचन क्षेत्रहरुको मतदान केन्द्रमा आज बिहानैदेखि मतदाताहरु लाइन लागेका छन् । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्नको लागि चिसो मौसम भएपनि बिहानैदेखि मतदाताहरु घरबाट मतदान केन्द्र जाँदै छन् । अधिकांश शीर्ष नेता र उम्मेद्वारहरूले आज पहिलो मतदान गर्दैछन्। माओवादी केन्द्रका अध्यक्ष एवम् बाम गठबन्धनका चितवन क्षेत्र नम्बर ३ उम्मेद्वार पुष्पकमल दाहालले मतदान गरिसकेका छन्।

जिल्लामा प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन सुरू भएको हाे । पहिलो चरणको निर्वाचन यही मंसिर १० गते ३२ जिल्लामा भएको थियो । आज प्रदेश नं. १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरीमा मतदान भइरहेको छ । यसैगरी प्रदेश नं. २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा मतदान सुरु हुदै छ ।  प्रदेश नं. ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुर, प्रदेश नं ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङ्जा र पर्वतमा पनि मतदान शुरु भएको छ ।

प्रदेश नं. ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया, प्रदेश नं ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नं ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा पनि मतदान सुरू भएको छ ।

ढुक्क भएर मतदानमा सहभागी जनाउन  निर्वाचन आयोगको अपिल

निर्वाचन आयोगले सुरक्षाको पूर्ण प्रवन्ध मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गरेको छ । मतदान स्थल वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।मतदानको लागि बिहान सात बजेदेखि साँझ पाँच बजेसम्मको समय निर्धारण गरिएको छ । मतदान गर्न जाँदा मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । परिचयपत्र नभएकाले आफ्नो परिचय खुल्ने सरकारी कागजात देखाएर पनि मतदानमा भाग लिन पाउने छन् ।

मतदाताले तीनवटा मतपत्रमा चार ठाउँमा मत संकेत गर्नुपर्ने छ । प्रतिनिधिसभाको हरियो र प्रदेश सभाको कालो मतपत्रमा एक ठाउँमा मत संकेत गर्नुपर्दछ । त्यसैगरी समानुपातिकतर्फको रातो मतपत्र एउटा मात्र हुनेछ । जसमा माथिको खण्डमा प्रतिनिधिसभाको लागि र तलको खण्डमा प्रदेशसभाको लागि मत संकेत स्वस्तिक छाप लगाउनुपर्ने छ ।

४ हजार ४८२ उम्मेदवार प्रतिस्पर्धामा

४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुन लागेको हो । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि २ हजार ८१९ गरी कुल ४ हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदमा पाँच हजार ८३८ उम्मेदवार छन् । ती निर्वाचन क्षेत्र राखिएका सात हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्रबाट एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने छन् ।

पहिलो चरणको निर्वाचन मंसिर १० मा सम्पन्न भइसकेको छ । पहिलो चरणको निर्वाचनमा करिब ६५ प्रतिशत खसेको थियो । दोस्रो चरणमा ७५ प्रतिशतभन्दा माथि मत खस्ने प्रमुख आयुक्त डा. अयोधी प्रसाद यादवले अनुमान गरे । स्रो चरणको निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी निर्वाचन आयोगको छ । यही मंसिर १० गते पहिलो चरणमा भएको निर्वाचनको मतगणना पनि दोस्रो चरणको चुनाव सकिएलगत्तै सुरु हुनेछ । त्यसका लागि मतगणना स्थलमा सीसी टीभी क्यामरा जडान गरिएको छ भने तार जालीको बार समेत लगाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार