प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा वडा नम्बर १ को असिग्राम मावि रुवाखोला केन्द्रबाट मतदान गरेका छन् ।
मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले सरकारले चुनाव सार्दैछ भन्नेहरुको मुख बन्द भएको हुनसक्ने अनुमान गरे । उनले निर्वाचन गराउने ऐतिहासिक जिम्मेवारी पूरा गरेको पनि बताए । ‘चुनाव गरेर ऐतिहासिक जिम्मेवारी पूरा गर्न पाएकोमा खुसी भएको छु,’ देउवाले भने, ‘ओली जीले त भोट हालिसकेपछि पनि चुनाव सर्छ भन्नबेर छैन ।’
देउवाले अघि भने, ‘चुनाव सर्दैछ भन्नेहरुको मुख बन्द हुनुपर्ने हो ।’उनले निर्वाचनमा कांग्रेसको बहुमत आउने र कांग्रेसकै सरकार बन्ने दावीसमेत गरे । प्रदेश नम्बर ७ मा कांग्रेसको सबैभन्दा राम्रो पकड भएको उनले बताए।
आफू काठमाडौं फर्किनेबित्तिकै सातवटै प्रदेशको प्रमुख र राजधानी पनि तोक्ने देउवाले जानकारी दिए । निर्वाचनको लागि गृहजिल्ला आएका देउवा मतदान गरेर कैलाली हुँदै काठमाडौं जाने योजना छ ।