गोरखा २ मा मतगणना सुरु

जिल्ला निर्वाचन कार्यालय गोरखाले प्रतिनिधिसभाको मतगणना २ ठाउँबाट सुरु गरेको छ । दुईवटा निर्नाचन क्षेत्र रहेको गोरखामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना २/२ ठाउँमा सुरु गरिएको छ ।

“प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना २/२ ठाउँमा र समानुपातिकतर्फको १/१ ठाउँमा गणना गर्ने तयारी गरिएको छ,” जिल्ला निर्वाचन अधिकृत एकनारायण लम्सालले भने, “मुचुल्का उठाएर बाक्सा खोलिसक्यौं, अब मतगणना सुरु भयो ।”

मतगणना स्थलमा तारजाली र सीसीटीभी जडान गरिएको छ ।

मतगणाका लागि एक ठाउँमा ७ जनाका दरले गणक निर्वाचन आयोगको निर्देशिका अनुसार खटिए पनि आवश्यकता परे थप गणकका लागि पनि कर्मचारी तयार रहेको लम्सालले बताए ।

उनले निर्वाचन आयोगको निर्देशन भन्दा अगाडि नै मतगणना सक्ने योजना बनाएको समेत बताए । ९८ हजार ६२२ मतदाता रहेको क्षेत्र हो भने २ मा ९० हजार ८२६ मतदाता रहेका छन् ।

गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकातर्फबाट चीनकाजी श्रेष्ठ र बाम गठबन्धनबाट हरिराज अधिकारी चुनावी प्रतिस्पर्धामा छन् ।

क्षेत्र नम्बर २ बाट बाम गठबन्धबाट नारायणकाजी श्रेष्ठ छन् भने उनलाई चुनौती दिने उमेदवारको रुपमा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई हेरिएको छ । डा. भट्टराईलाई नेपाली कांग्रेसले समर्थन गरेको छ । यो क्षेत्रलाई डा. भट्टराई र नाराणकाजी श्रेष्ठले आफ्नो प्रतिष्ठाको लडाइँ रहेको बताएका छन् । तत्कालीन नेकपा माओवादीमा यी दुबै नेताले सँंगै काम गरेका थिए ।

from 12khari.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार