काठमाडौं, २४ मंसिर — वाम गठबन्धनका सुत्रधारका रुपमा लिइएका एमाले उपाध्यक्ष वामदेव गौतम झिनो मतान्तरले बर्दिया क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन् ।
उनलाई नेपाली कांग्रेसका उम्मेदवार सञ्जय गौतमले पराजित गरे । देशभर वाम लहर चलिहरेका बेला वाम गठबन्धनका सुत्रधार नै रहेका गौतमलाई केपी ओलीले षड्यन्त्र गरेर हराएको प्युठानका एक अनेरास्ववियु नेता बताउँछन् ।
उनले भने, ‘वामदेव गौतम हाम्रै जिल्ला (प्युठान) बाट उम्मेदवार हुनुपर्ने व्यक्ति हो । तर उहाँलाई जबरजस्ती बर्दिया पुर्याइएको हो । जनमोर्चासँग एक सिटका लागि तालमेल गर्नुपर्ने कुनै आवश्यकता थिएन । तर बर्दिया लगेर पनि हराइयो ।’ वाम गठबन्धनले प्युठानबाट राजमोकी दुर्गा पौडेललाई टिकट दिएको थियो ।
वाम गठबन्धनका सुत्रधार
एमाले उपाध्यक्ष वामदेव गौतम माओवादी प्रति नरम भएको भन्ने आरोप पहिलेदेखि नै लाग्ने गरेको थियो । माओवादीसँग गठबन्धन गर्न पार्टीमा प्रस्ताव लाने व्यक्ति वामदेव नै हुन् । त्यतिमात्र होइन वाम गठबन्धनका लागि भएका सबै काम उनकै घरमा बसेर गरिएको हो । त्यो बाहेक गठबन्धनले टिकट बाँडफाँड गर्दासमेत गौतमलाई मध्यस्तकर्ता मानेर उनकै घरमा लामो समय बसेर गरिएको थियो ।
यसअघि प्रचण्ड नेतृत्वको सरकारको समयमा समेत वामदेव प्रचण्डलाई कांग्रेससँगको सहकार्य तोड्न र एमालेसँग गठबन्धन गर्न पटकपटक प्रस्ताव लिएर गएका व्यक्ति हुन् । सो समयमा एमालेले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र मन्त्रिपरिषद्मा ६० प्रतिशत माओवादीका मन्त्री नियुक्त गर्नेसम्मको प्रस्ताव राखेको थियो । तर प्रचण्डले कांग्रेससँगको गठबन्धन तत्काल तोड्दा राजनीतिक बेइमानी हुने भन्दै वामदेव गौतमसँग तत्काललाई सम्भव नभएको जवाफ फर्काउने गरेका थिए ।
यसकारण हराइयो
बर्दिया क्षेत्र क्षेत्र नं. १ वामदेव गौतमले यसअघि जितेको निर्वाचन क्षेत्रमा पर्छ । वाम गठबन्धन भएको समयमा कमजोर मानिएका उम्मेदवारहरुले पनि जितिरहँदा उनले हार्नु रहस्यमय बनेको छ । कारण के छ ?
प्युठानका तिनै विद्यार्थी नेता भन्छन्, ‘यसपटक वामदेव गौतमले चुनाव जितेको भए प्रधानमन्त्रीका लागि पार्टीभित्रबाट पहिलो दाबेदारी गौतमको नै हुने थियो ।’ त्यसो त यसअघि एमाले महाधिवेशनमा ओलीलाई समर्थन गर्दा नै गौतमले ओली प्रधानमन्त्री हुँदा पार्टी अध्यक्ष आफूले पाउने आशा गरेका थिए । तर ओलीले दिएनन् ।
यसैकारण गौतमले ओलीविरुद्ध पटकपटक प्रहार गर्ने गरेका थिए । उनले ओलीले बाचा पुरा नगरेको भन्दै सार्वजनिकरुपमै गुनासो पोख्ने गरेका थिए । यसपटक गौतमले जितेको भए ओली फेरि संकटमा पर्ने थिए । गौतमले जनमत प्राप्त गर्न नसकेपछि उनी पार्टीबाट पनि उपेक्षित हुने र प्रधानमन्त्रीका लागि अयोग्य नै हुने पक्का बनेको छ ।
यसैका लागि ओलीले आफ्नो पक्षका कुनै पनि व्यक्तिलाई वामदेवका लागि चु्नावमा खट्न निर्देशन दिएनन् । अर्थात् ओलीले सांकेतिकरुपमा पार्टीका बर्दियास्थित संरचनालाई ओलीका लागि परिचालन गरेनन् र केही व्यक्तिलाई सञ्जय गौतम निटक बनाउन प्रयास गरे ।
वामदेवले हार्दा ओलीलाई पार्टीभित्र अब सरकार गठन र सम्भावित पार्टी एकताका लागि एउटा बोझ कम भएको रुपमा अथ्र्यार्इएको छ ।