काठमाडौं, २६ मंसिर — प्रतिनिधि सभा र प्रदेश सभाको मतगणनाको अन्तिम परिणाम आउन थालेको छ। पछिल्लो मत गणना अनुसार प्रतिनिधिसभा तर्फको १५८ स्थानको मतपरिणाम सार्वजनिक भएको छ।
हालसम्म प्राप्त विवरणअनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा (एमाले)का ७४, नेकपा (माओवादी केन्द्र) का ३६, नेपाली काँग्रेसका २१, राष्ट्रिय जनता पार्टी, नेपालका १० र संघीय समाजवादी फोरम नेपालका १० प्रतिनिधि निर्वाचित भएका छन् ।
यसैगरी, नयाँ शक्ति पार्टी, नेपालका एक, नेपाल मजदुर किसान पार्टीका एक, राष्ट्रिय जनमोर्चाका एक र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक प्रतिनिधि तथा स्वतन्त्र एक सदस्य निर्वाचित भएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ ।
आयोगका अनुसार नेकपा (एमाले)ले १० लाख ४५ हजार ५९५ मत, नेपाली काँग्रेसले नौ लाख ७४ हजार ९२३, नेकपा (माओवादी केन्द्र) ले चार लाख ३० हजार ९२९, संघीय समाजवादी फोरम, नेपालले ७४ हजार ३५८, विवेकशील साझा पार्टीले ५९ हजार ३७२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५५ हजार २१९, राष्ट्रिय जनता पार्टी नेपालले ४८ हजार ९६६, नयाँ शक्ति पार्टी, नेपालले ३३ हजार १७९, राष्ट्रिय जनमोर्चाले २५ हजार ८२६ र राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले २२ हजार ६१९ मत प्राप्त गरेका छन् ।