६७ नयाँ अनुहार आए प्रतिनिधि सभामा, कुन् पार्टीका को को आए ? (नामावलीसहित)

काठमाडौं, २७ मंसिर — प्रतिनिधिसभा निर्वाचनमा ६७ जना नयाँ अनुहार विजयी भएका छन् । मंगलबार रातिसम्म १६४ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । अब सुनसरी ३ मा मात्र मत गन्न बाँकी छ । सो क्षेत्रबाट कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच कडा प्रतिस्पर्धा छ । दुवैजना पूर्वसांसद हुन् ।

एमालेबाट नयाँ अनुहार धेरै निर्वाचित

१६५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेबाट धेरै नयाँ अनुहार निर्वाचित भएका छन् । एमालेबाट ४१, माओवादी केन्द्रबाट ११, कांग्रेसका तीन, संघीय समाजवादीबाट सात, राजपाबाट चार र राप्रपाबाट एकजना नयाँ अनुहारले जितेका छन् । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नयाँ शक्तिका डा. बाबुराम भट्टराई र नेमकिपाका प्रेम सुवाल पूर्वसांसद हुन् । स्वतन्त्र रूपमा उम्मेदवारी दिएर नवलपरासी पश्चिम १ बाट निर्वाचित हृदयेश त्रिपाठी, कपिलवस्तु २ बाट निर्वाचित बृजेशकुमार गुप्ता र हुम्लाबाट निर्वाचित छक्कबहादुर लामा तीनैजना पूर्वसांसद हुन् ।

चारदेखि ६ पटकसम्म दोहोरिने सांसद

तीनदेखि लगातार ६ पटकसम्म निर्वाचित सांसदले संघीय संसद्मा प्रतिनिधित्व गर्दै छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट छैटौँपटक सांसदमा निर्वाचित भएका हुन् । उनी ०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ मा निर्वाचित भएका हुन् । कांग्रेस नेता विजयकुमार गच्छदार सुनसरी ३ बाट ०४८ देखि तीनपटकसम्म कांग्रेसबाट र ०६४ र ७० मा फोरमबाट निर्वाचित भए ।

एमाले वरिष्ठ नेता झलनाथ खनाल ०५६ बाहेक ०४८ पछिका सबै निर्वाचनमा सांसद बन्दै आएका छन् । हाल उनी पाँचौँपटक सांसद बनेका हुन् । एमाले नेता सुवास नेम्वाङ इलामबाट ०५६ देखि हालसम्म चारपटक र उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा चौथोपटक सांसद निर्वाचित भएका छन् । यसअघि रोल्पा तथा दाङबाट चुनाव लड्दै आएका महरा यसपटक दाङ २ बाट निर्वाचित भए । एमालेको चुनाव चिह्न लिएर उठेका बृजेशकुमार गुप्ता चौथोपटक सांसद बनेका छन् । उनी ०५६ मा राप्रपा, ०६४ र ०७० मा सद्भावना पार्टी र हाल सूर्य चिह्न लिएर कपिलवस्तु २ बाट निर्वाचित भएका हुन्।

यी हुन् तीनपटक सांसद बन्ने नेता

गोरखाबाट डा. बाबुराम भट्टराई लगातार तेस्रोपटक सांसद बनेका छन् । उनी दुईपटक माओवादी र एकपटक नयाँ शक्ति पार्टीबाट सांसदमा निर्वाचित भएका हुन् ।

कांग्रेसका प्रकाशमान सिंह काठमाडौं १ बाट लगातार तेस्रोपटक विजयी भएका छन् । माओवादी केन्द्रका जनार्दन शर्मा, एमालेका रवीन्द्र अधिकारी, कांग्रेस महामन्त्री डा. शशांक कोइराला, अभिशेकप्रताप साह लगातार तीनपटक सांसद बन्ने नेता हुन् ।

जो छैटौँपटक  सांसद बन्न सकेनन्

०४८ देखि सांसद निर्वाचित हुँदै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल यसपटक पराजित भए । पाँचपटक लगातार सांसद बनेका नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले यसपटक उम्मेदवारी दिएनन् । ०४८ देखि लगातार सांसद बन्दै आएका कांग्रेस नेता पूर्णबहादुर खड्का यसपटक सुर्खेतबाट पराजित भए ।

पहिलोपटक निर्वाचित सांसद

एमाले

राजेन्द्र गौतम—संखुवासभा, गोकुल बास्कोटा— काभ्रे २, महेश बस्नेत— भक्तपुर २, नन्दलाल रोकाया— बाँके ३, तिलक महत—नवलपुर २, नरबहादुर धामी— कञ्चनपुर २, पदम गिरी— पर्वत, यज्ञ बोगटी— अछाम २, जयकुमार राई— सुनसरी १, मेटमणि चौधरी— दाङ १, नवराज रावत— सुर्खेत २, लीलानाथ श्रेष्ठ— सिरहा ३, पवित्रा निरौला खरेल— झापा २, नारदमुनि राना थारू— कैलाली ५, कृष्णकुमार श्रेष्ठ किसान— तनहुँ १, केदार सिग्देल —तनहुँ २, हीराचन्द्र केसी— दाङ ३, नारायण खतिवडा— नुवाकोट २, राजबहादुर बुढा— दैलेख २, रवीन्द्रराज शर्मा- दैलेख १, ध्रुव शाही- सुर्खेत १, लालप्रसाद साँवा लिम्बू- झापा ४, जगत विश्वकर्मा- कास्की ३, राजेन्द्र राई- धनकुटा, नवराज सिलवाल- ललितपुर १, कृष्ण राई- काठमाडौं ३, घनश्याम खतिवडा- मोरङ १, जीवनराम श्रेष्ठ- काठमाडौं ८, भूमि त्रिपाठी- धादिङ १, खेम लोहनी- धादिङ २, डा. सूर्य पाठक- बाग्लुङ १, योगेश भट्टराई- ताप्लेजुङ १, लालबहादुर थापा- बाजुरा, गोपाल बम- मुगु १, भूपेन्द्रबहादुर थापा- म्याग्दी, प्रेमप्रसाद तुलाचन- मुस्ताङ, पाल्देन छोपाङ गुरुङ- मनाङ, दीपकप्रकाश भट्ट- कञ्चनपुर ३, नारायण मरासिनी- स्याङ्जा १, पद्मा अर्याल- स्याङ्जा २  र झपट रावल- कैलाली २

माओवादी केन्द्र

सुरेशचन्द्र दास—सिरहा २, रामेश्वरराय यादव— सर्लाही ३, गजेन्द्र महत— जुम्ला, हिमाल किराती— उदयपुर २, हेमकुमार राई— सोलुखुम्बु, बिना मगर— कञ्चनपुर १, महेश्वर गहतराज— बाँके १, गंगाबहादुर तामाङ—काभ्रे १, चक्रपाणि खनाल— कपिलवस्तु १, दुर्गाबहादुर रावत— कालिकोट र हरि अधिकारी— गोरखा १

कांग्रेस

प्रमोदकुमार यादव- रुपन्देही ४, देवप्रसाद तिमल्सिना- रौतहट ४ र  मोहन आचार्य- रसुवा

संघीय समाजवादी फोरम

डा. सुरेन्द्र यादव— महोत्तरी ४, प्रदीप यादव— पर्सा १, विमलप्रसाद श्रीवास्तव—पर्सा २, हरिनारायण रौनियार— पर्सा ३, उमाशंकर अरगरिया— धनुषा २, रामबाबु यादव—बारा ३ र -डा. सूर्यनारायण यादव—सप्तरी १

राजपा

रिेशमलाल चौधरी- कैलाली १, प्रमोद साह- सर्लाही १, चन्द्रकान्त चौधरी- सप्तरी ३ र एकवाल मियाँ-बारा ४

राप्रपा

राजेन्द्र लिङ्देन- झापा ३   नयाँ पत्रिका दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार