‘वाम सरकारको आयु १८ महिना’ – कांग्रेस नेता चन्द्र भण्डारी

काठमाडौं,२८ मंसिर –  बुटवलमा पत्रकारहरुसँग कुरागर्दै नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेसलाई कमजोर ठाने वाम सरकारको आयु १८ महिना मात्र हुने बताएका छन् । बहुमतको मातमा कांग्रेसलाई कमजोर ठानेर अघि बढे बाम सरकारको आयु निकै छोटो हुने चेतावनीसमेत दिएका छन् ।

निर्वाचन परिणामबाट कांग्रेस आत्तिनुनपर्ने समेत उनले बताए । भण्डारीले भने, ‘कांग्रेसले चुनाव हारे पनि उसको शक्ति र क्षमता भने हराएको छैन । नयाँ शिराबाट पार्टी अघि बढ्छ ।’ अब पनि स्थिर सरकार नहुने उनले बताए । ‘बहुमतको मातमा बुद्धि नर्पुयाउने र कांग्रेसलाई सामान्य ठानी बाहिर राख्ने काम गर्नु हुँदैन’ कांग्रेस नेता भण्डारीले भने, ‘यसो भएमा वामसरकारको आयु १८ महिनामै सकिन्छ ।’

नेपाली समाजमा बढी राजनीतिकरण गर्ने रोग लागेको र यसको सहि उपचारका रुपमा विकासको इन्जेक्सनलाई आफूले चुनावमा प्रयोग गर्दा फेल भएको बताए । भण्डारीले पार्टीका तत्कालिन सभापति सुशील कोइरालालाई संविधान जारी गरेपछि पुनः प्रधानमन्त्रीमा उठाएपछि नै काग्रेसको कमजोरी शुरु भएको दाबी गरे ।

भारतले नाकाबन्दी गर्दा पार्टीले त्यसको प्रतिवाद गर्न नसक्नु, पाँच नम्बर प्रदेशका पहाडी जिल्ला टुक्रयाउने प्रस्तावमा समर्थन गर्नु र माओवादीका नेता कार्यकर्ता वाम गठबन्धनमा धेरै ईमान्दार बनेका कारण कांग्रेसले हार व्यहोर्नु परेको र आफूपनि त्यसैको शिकार भएको उनको भनाइ छ । प्रतिनिधिसभा सदस्यका लागि गुल्मी १ मा उम्मेदवार बनेका भण्डारी एमाले सचिव प्रदिप ज्ञवालीसँग पराजित भएका हुन् ।  – हिमालय टाइम्स दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार