काठमाडौं, २९ मंसिर – वाम गठबन्धनले प्रदेश नम्बर–३ मा स्पस्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीकारुपमा देखिएका छन् । प्रदेश नम्बर–३ प्रदेशसभामा वाम गठबन्धनले ६६ मध्ये ५७ सिट जित हासिल गरेपछि मुख्यमन्त्रीका लागि दौडधुप चलेको छ । मुख्यमन्त्रीको आकांक्षीमा नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यदेखि काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख केशव स्थापितसम्म देखिएका छन् ।
निर्वाचनअगाडि नै मुख्यमन्त्रीकोरुपमा प्रस्तुत् भएका उनीहरु अहिले निर्वाचनको नतिजा आइसकेपछि आकांक्षीकोरुपमा प्रस्तुत् भएका छन् । मुख्यमन्त्रीको आकांक्षीकोरुपमा शाक्य, स्थापितसँगै एमाले पोलिटब्यूरो सदस्यद्वय राजेन्द्र पाण्डे र सानुकुमार श्रेष्ठ, पशुपति चौलागाइँ, अरुण नेपाललगायत देखिएका छन् ।
उपाध्यक्ष शाक्य प्रमुख दाबेदारकारुपमा देखिएकी छन् । उनी अहिले आफू मुख्यमन्त्री बन्नका लागि दौडधुपमा रहेकी छन् । एमाले उपाध्यक्ष शाक्यले पार्टीको प्रदेशप्रमुख भएको नाताले मुख्यमन्त्री आफू नै हुने दाबी गरिन् । ‘प्रतिनिधिसभामा नगइ मैले मुख्यमन्त्रीको लागि नै प्रदेशसभामा प्रतिनिधित्व गरेको हुँ’–उनले भनिन्–‘सबै साथीले पनि मलाई अघि सार्नुभएको छ ।’
प्रदेशसभाको अन्तिम परिणाम सार्वजनिक भएको २० दिनभित्र प्रदेशसभा गठन हुने संवैधानिक व्यवस्था रहेको छ । पोलिटब्यूरो सदस्य श्रेष्ठ आफू ३ नम्बर प्रदेशकोबारेमा जानकार रहेकाले आफू नै मुख्यमन्त्री बन्ने बताए । उनले प्रदेशलाई नमुना बनाउनका लागि आफू नै योग्य भएको दाबी गरे ।
‘प्रदेश बनाउनका लागि सजिलो र चुनौती दुवै रहेको छ’–उनले भने–‘तर म ती सबैलाई मिलाउँदै प्रदेशलाई नमुना बनाउन सक्दछु ।’ प्रदेश नम्बर–३ को अस्थायी मुकाम मकवानपुरको हेटौंडा तोकिएको छ । काठमाडौं महानगरका पूर्वप्रमुख स्थापितले आफूले काठमाडौंको विकास गरेको आधारमा मुख्यमन्त्रीको दाबी गरेको बताए ।
‘मसँग विकास निर्माणको दृष्टिकोण रहेको छ । यदि मुख्यमन्त्री पाए प्रदेश नम्बर–३ लाई चाँडै नै विकास गर्ने थिएँ’–उनले भने । पार्टीले जिम्मेवारी दिए सफलतापूर्वक मुख्यमन्त्रीको भूमिका निभाउने उनको भनाइ छ । प्रदेश नम्बर–३ मा एमालेले ४२, माओवादी केन्द्रले १५, कांग्रेसले सात तथा नेपाल मजदुर किसान पार्टी र नयाँ शक्ति नेपालले एक/एक सिट जितेका छन् ।
प्रदेश नम्बर–३ मा काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाञ्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, धादिङ, दोलखा, रामेछाप, सिन्धुली, रसुवा र नुवाकोटल जिल्ला रहेका छन् ।